काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर नेता झलनाथ खनाल र भीम रावलले पत्र पठाएका छन्। सोमबार राष्ट्रियता तथा पार्टी निर्णय र पद्धतिबारे ३१ बुँदे पत्र ओलीलाई पठाएका हुन्।
पत्रमा आर्थिक वर्ष २०७७-०७८ का लागि सरकारको नीति तथा कार्यक्रममा नेपाल सरकार तथा एमसीसीका बीच भएको सम्झौतामा उल्लेखित विद्युत प्रशारण लाइनसम्बन्धी आयोजना समावेश भएको भन्दै आपत्ति जनाएका छन्। बुँदा नम्बर २११ मा लेखिएको छ ‘लप्सीफेदी-रातमाटे–हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी प्रशारण लाइन निर्माण कार्य अघि बढाइनेछ’ भनी नेपाल सरकार र एमसीसीका बीच भएको सम्झौतामा उल्लेखित आयोजना जस्ताको जस्तै राखिएको छ। यसले प्रतिनिधिसभामा अनुमोदनको लागि नेपाल सरकारले पेश गरेको उक्त सम्झौताका सम्बन्धमा पार्टीको मार्ग निर्देशन अनुरुप हुनुपर्ने केन्द्रीय कमिटीको निर्देशन विपरीत हुन लागेको त होइन भन्ने आशंका जन्माएको छ।’
‘अतः उक्त आयोजना नेपाल सरकारले आफ्नै बजेट व्यवस्था गरी संचालन गर्न खोजिएको हो वा जस्केलाबाट एमसीसीसँगको सम्झौतामा उल्लेखित आयोजनालाई अघि बढाउन खोजिएको हो भन्ने सम्बन्धमा प्रधानमन्त्रीको स्थानबाट नै स्पष्ट गर्नु आवश्यक छ’ पत्रमा भनिएको छ ‘केन्द्रीय कमिटीको निर्णय, पार्टी पंक्ति तथा देशभक्त जनसमुदायको भावना अनुरुप पार्टीमा पेश गरिएको कार्यदलको प्रतिवेदनमा उल्लेखित तथ्य र सुझावहरूको आधारमा आवश्यक निर्णय गर्नु नै पार्टी पद्धतिसम्मत हुने कुरा स्वयंसिद्ध छ।’