बझाङ – जिल्लाको बुंगल नगरपालिकाका प्रमुख धन बहादुर विष्ट सहितको नेपाली काँग्रेसका नेता कार्यकर्ता सहभागी भएको रात्री भोजबाट फर्कन लाग्दा जेसीवी दुर्घटना भएको रहस्य बाहिर आएको छ ।
स्थानियका अनुसार नगरप्रमुख धन बहादुर विष्ट सहित काँग्रेसका स्थानिय नेता तथा कार्यकर्ताले वडा नं १ दहबगरमा रात्री भोज गरेका थिए । आईतबार अबेर दहबहगर पुगेका नगरप्रमुख विष्टलाई भेटन आस्थावान सबै भेला भएका थिए । दहबगरकै प्रतिष्ठित व्यापारीलाई पार्टी प्रवेश गराउन दहबगर पुगेका नगरप्रमुख सहितको टोलीले महेन्द्र मा.वि.का लेखापालको घरमा बसेर भोज भतेर गरेको स्थानियको भनाई छ ।
नगरप्रमुख विष्ट दहबगर पुगे पछि जेसीवि चालक सहित छ जना कार्यकर्ता जेसीवि लगेर कालंगा हाईड्रो पावरको क्याम्प बाट भोजमा जान निस्केको देखिन्छ । राती हिडेर जान समय लाग्ने भए पछि कार्यकर्ताको समुहले नगरप्रमुखको गाडी फसेको र निकाल्न बोलाएको बाहाना गरेर क्याम्प बाट जेसीवी लगेर गएका थिए ।
उनीहरुले यस विषयमा विराबगडमा रहेको परियोजनाका प्रमुखलाई पनि जानकारी गराएको छ । हामीहरु नगरप्रमुखको गाडी फसेकाले निकाल्न जाँदै छौ भने पछि सीएमले अनुमती दिएको छ ।
भोजभतेरमा पार्टी संगठन सुद्धीकरण र विस्तारका बारेमा पनि छलफल भएको थियो । उनीहरुले अत्याधिक मदिरा सेवन गरेर जेसीवी ल्याएर फर्कदै गर्दा जेसीवी अनियन्त्रीत भएर पल्टेको हो ।
नगरपालिकाको वडा १ दहबगर किर्केट मैदान नजिक राती करिब १२ः३० बजे लु १ क १२७८ नम्बको जेसीवी दुर्घटना भएको हो । दुर्घटनास्थलमा जेसीवीमै मदिराका बोतल भेटिएको भए पनि प्रहरी आउनु भन्दा अघि ती बोतलहरु घटनास्थल बाट हटाईएको थियो ।
यस विषयमा बुङगल नगरपालिका प्रमुख धन बहादुर विष्ट संग बुझ्दा कुनै भोजभतेर वा पार्टी नगरेको आफ्ना शुभचिन्तकले बोलाए पछि दहबगर आएको बताउनुभयो । आफुहरु भेटघाटको लागी दहबगर आएको तर अरुले भने जस्तो कुनै पार्टी भोजभतेर नगरेको उहाँको भनाई छ ।
आफ्नो गाडी नफसेको र जेसीवी कस्ले र किन बोलाएको थियो । यो विषयमा आफु जानकार नभएको उहाँले भन्नुभयो । अहिले स्थानियले हाईड्रोका प्रतिनिधि नआउन्जेल सम्म शव नउठाउने अडान लिए पछि शव उठेको छैन । घटनाका विषयमा विभिन्न टिका टिप्णी हुन थालेका छन ।
आईतबार राति १२ः३० बजे तिर भएको जेसीवी दुर्घटना परि एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन । जेसीवी कालंगा हाइड्रो पावरले भाडामा लिएर सञ्चालन गरिरहेको बुझिएको छ । दुर्घटनामा परि बुङ्गल नगरपालिका १ भेरगडा बस्ने महेन्द्र मावि दहबगरको प्राथमिक तहका स्थायी शिक्षक ३४ वर्षिय मानबहादुर बोहराको मृत्यु भएको हो ।
दुर्घटनामा बुंगल नगरपालिका वडा नं ९ देउलीकोटका जेसीवी चालक २४ वर्षिय महेश खडायत, वडा नं १ दहबगर बस्ने २७ वर्षिय रामबहादुर बोहरा र ५० वर्षिय प्रताप धामी घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएकोे छ ।
जेसिबी सडक बाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहराले बताउनुभयो ।
घटनाको थप अनुसन्धानका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहरा र जिल्ला प्रहरी कार्यालय चैनपुरबाट प्रहरी नायब निरिक्षक मदनसिंह धामीको टोली घटनास्थलमा आइपुगेको छ ।
1 Comment