जनकपुरधाम – महोत्तरीमा बलात्कारको घटना साम्य पार्न पैसाको प्रलोभन आउन थालेको छ । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ हरिनमरीकी एक दलित ३० बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वडा नम्बर ९ का सचिव मिथिलेश यादवलाई बुधबार पक्राउ गरेको घटनामा पैसा तथा जग्गाको प्रलोभन आउन थालेको हो ।
आइतबार अजगेबा हरिनमरी बजारमा ढकिया बेच्न गएको बेला दुई जना आएर मिल्न दबाव दिएको पीडित महिलाले आरोप लगाएकी छन् । ‘मिलीहाल तिमीलाई जे चाहिन्छ, हामी दिन तयार छौं भने, ‘सुरुमा १० लाख रुपैयाँ दिन्छु भने । त्यसपछि कि त १० लाख रुपैयाँ कि त १० कठ्ठा खेत दिन्छु भने’, पीडित महिलाले भनिन् ।
यसबाहेक पनि अरु जे चाहिन्छ, त्यो दिने भनेका उनीहरुले धम्की समेत दिएको पीडितले बताएकी छन् । ‘हामी जे भन्छौं, त्यो मानिहाल, नभए ठीक हुँदैन’ भनेर थर्किएको उनले सुनाइन् । यसबारे परिवारलाई जानकारी समेत महिलाले गराएकी छन् ।
ती पीडित महिला ढकिया र टोकरी बनाएर बेच्ने गर्छिन् । बुधबार उनी अजगेबा बजारमा ढकिया बेचेर फर्किदै थिइन् । गाउँ नजिकैको खोलामा पुग्दा वडा सचिवले रोकेको र बलजफ्ती समातेर झाडीतिर लगेर बलात्कार गरेको पीडित महिलाले बताएकी छन् ।
जबर्जस्ती करणीपछि यादवले एक जनालाई मोटरसाइकलमा बोलाएर घर फर्किएको उनले जानकारी दिइन् । ती महिला आफ्नो घर पुग्दा वडासचिव उनकै घर पुगेर आफूबाट गल्ती भएको स्विकार गरेका थिए । तर ती महिलाले आफूले प्रहरीलाई जानकारी गराइसकेको बताइन् ।
प्रहरीले बुधबारै राति नै सचिव यादवलाई पक्राउ गरेको छ भने महिलाको स्वास्थ्य जाँच गराएको छ । यादवबिरुद्व जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान सुरु गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
प्रहरीले अनुसन्धान गरिरहँदा यादवका आफन्तले घटना मिलाउन पीडितलाई प्रलोभन देखाउन थालेका छन् ।