झापा : हल्दीबारी गाउँपालिकाको सातौं गाउँ सभाको विवाद समाधान भएको छ । कार्तिक २७ गते विहान ८ बजे गाउँपालिकाको सभाहलमा आयोजित विशेष सभाको बैठकले सातौं गाउँ सभा अधिवेशनको पहिलो बैठक (असार(१०) र दोस्रो बैठक (साउन(२६) बाट पारित बजेट, नीति तथा कार्यक्रम र सोसंग सम्बन्धित आर्थिक ऐन,२०७७ र विनियोजन ऐन,२०७७ सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गर्दै हल्दीबारी गाउँपालिकामा विद्यमान विवादको समाधान गरेको हो ।
गत असार १० गते आयोजित सातौं गाउँ सभाको पहिलो बैठकमा जलथल जंगल र आवादी सीमानाको सडक नामाँकरणको विषयलाई लिएर जनप्रतिनिधिहरुको बीचमा विवाद भएको थियोे । उक्त विवाद पश्चात् गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन लगायत राप्रपा र नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले गाउँ सभा बहिस्कार गरेका थिए भने नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ताहरुले गाउँपालिकाको सभाहल तोडफोड समेत गरेका थिए ।
तोडफोड पश्चात् उपाध्यक्ष डम्बर गिरी लगायत नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रकृया बमोजिम बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक पारित गर्दै सभाहल तोडफोड गर्ने व्यक्तिहरुका विरुद्ध सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णय समेत गर्दै बैठक सम्पन्न भएको थिए । त्यस पश्चात् हल्दीबारीमा विवाद चुलिएको थियोे ।
विवाद समाधानका लागि दुवै पक्षका जिल्ला स्तरीय नेतृत्व सहित पटक – पटक छलफल भएता पनि जनप्रतिनिधिहरुको बीचमा कुनै सहमति हुन सकेको थिएन । श्रावण २६ गते विवाद समाधान गर्ने हिसाबले आयोजना गरिएको सातौं गाउँ सभाको दोस्रो बैठकमा सबै जनप्रतिनिधिहरु सभाहलमा उपस्थित भए पनि बैठकको गणपुरक संख्या नपुगेको भन्दै अध्यक्ष लिङ्देनले सभा स्थगन गर्नुभएको थियो ।
त्यस पश्चात् गाउँपालिका उपाध्यक्ष लगायत नेकपा र नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले विभिन्न ३४ वटा नितिगत निर्णयहरु पारित गर्दै सभाबाट पारित आर्थिक ऐन र विनियोजन ऐन प्रमाणिकरणका लागि सभाध्यक्षको हैसियतले गाउँपालिकाका उपाध्यक्षलाई जिम्मेवारी सुम्पीएको थियोे भने बजेट खर्च गर्ने अख्तियारी समेत सभाबाटै प्रमुख प्रशासकीय अधिकृतलाई दिंदै सातौं गाउँ सभाको समेत समापन गरेको थियोे ।
सभा सम्पन्न भए पश्चात् गाउँपालिकाको राजस्व संकलन गर्ने देखि लिएर खर्च गर्नेसम्मका कामकाजहरु नियमित रुपमा संचालन हुँदै आइरहेको थियोे । गाउँपालिकाका अध्यक्षले पटक–पटक अनुरोध गरि सातौं गाउँ सभाबाट पारित बजेट, नीति तथा कार्यक्रम, आर्थिक ऐन र विनियोजन ऐन लगायत अन्य निर्णयहरु आफूले स्वीकार गर्ने भएकोले सातौं गाउँ सभाको तेस्रो बैठक बस्न अनुरोध गर्नुभएको थियो ।
उहाँले केही जनप्रतिनिधिहरुसंग समन्वय गरि कार्तिक–२४ गते सातौं गाउँ सभाको तेस्रो बैठक आह्वान समेत गर्नुभएको थियो । तर, उक्त बैठकमा कोही पनि जनप्रतिनिधिहरु सहभागी भएनन् । त्यस पश्चात् बोलाइएको गाउँ कार्यपालिकाको बैठकले कार्तिक २७ गते बिहान ८ बजेका लागि विशेष सभा आयोजना गर्ने निर्णय गरेको थियोे भने सभामा पेश गर्ने कार्यसूचीको विषयमा समेत टुंगो लगाएको थियोे । सोही बमोजिम विवाद समाधानका लागि कार्तिक २७ गते विशेष सभाको आयोजना गरिएको थियोे ।
यसका साथै, अब हल्दीबारी गाउँपालिकाको सातौं गाउँ सभाको विवाद सकिएको छ । असार १० र श्रावण २६ गते गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीको अध्यक्षतामा बसेको गाउँ सभाको बैठकले गरेका निर्णयहरु गाउँपालिकाका अध्यक्ष लिङ्देनले स्वीकार गर्नुभएको छ । यसका साथै उहाँले जलथल जंगल र आवादी सीमानाको सडकलाई द्रोणचार्य पर्यटकीय सडक नामाँकरण गर्ने निर्णयलाई समेत अनुमोदन गरेका छन् ।
गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम ७ बटा चरणमा सम्पन्न हुने गाउँपालिकाका प्रवक्ता सागर पोर्तेल बताउँछन् । हामी बीच छैटौं चरणसम्म कुनै थिएन, सातौं चरणमा एकाएक विवाद भएको उहाँले बताउनुभयो । बजेट, नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्षसंग पटक–पटक बसि छलफल गरेर टुंगो लगाइएको पोर्तेलले बताउनुभयो ।
सामान्यतया विभिन्न विषयगत समिति र उपसमितिहरुमा छलफल गरि गाउँ कार्यपालिकाले अनुमोदन गरेर स्वीकृतिका लागि बजेट, नीति तथा कार्यक्रम सभामा लैजानु पर्दछ । आफ्नै अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकबाट अनुमोदन गरी स्वीकृतिका लागि सभामा लगिएको बजेट, नीति तथा कार्यक्रमको विरुद्धमा उभिनु गाउँपालिकाका अध्यक्षको सहि कदम थियो त ?
पहिलो र दोस्रो बैठकले गरेको निर्णयहरु नै स्वीकार गर्नु पर्ने थियोे भने यत्रो समयसम्म भ्रम छरी आम जनतालाई के का लागि सास्ती दिइयो ? देशभरमै नमुना काम गरेर चर्चा कमाइरहेको हल्दीबारी गाउँपालिकाको बदनामीको जिम्मा कसले लिन्छ ? यी प्रश्नहरुको जबाफ समयले पक्कै देला । जे होस ढिलै भए पनि हल्दीबारीको विवाद समाधानमा लाग्नु भएकोमा सबै जनप्रतिनिधिहरुप्रति बधाई ।