हुम्लाको एक मुख्य हिउँदे पर्व “भैल्या पुनी” धुमधामका साथ मनाइँदैछ । कर्णाली तथा सुदुर पश्चिमका सबै जिल्लाहरुमा यो पर्व पुस पुर्णिमाका दिनमा मनाइन्छ । यहाँ यो पर्वलाई सानो भैलो भनिन्छ ।
खशान तथा जडानमुलका दुबै समुदायहरूले मनाउन यो पर्वमा देउसी भैलौ जस्तै महिला र पुरुष दुबै समुहले भैलो खेल्ने चलन छ । मुख्य पर्व पुुस महिनाको पूर्णिमा दिनमा मनाइने गरिन्छ भने औंशीसम्म पनि भैलो खेल्ने र माग्ने चलन भएको थाली गाउँका स्थानीय गुमान रावलले बताउनुभयो ।
उहाँले भन्नु भयो हामी साना छँदा त यो पर्वको महत्व अर्कौ थियो । गाउँका घर घरमा गएर भैलो माँगरे भैलो खाने गथ्र्यौ भने नयाँ र ठूला मान्छेहरुलाई औंशीसम्म पनि भैलो माग्थ्यौं । आजभोलि यो चलन हट्दै गएको छ ।
गाउँका घर घरमा गएर देउसी भैलो जस्तै भैलो माग्ने चलन आआफ्नामा समुहमा खेलेर गाउँभन्दा अली टाढाको स्थानमा गएर भैलो खाने चलन छ । यसैले पनि यो अति महत्वपूर्ण मानिने जैर गाउँका गोकुल बुढाको भनाई छ ।
यो पर्वलाई लोकसाहित्यको सन्देश प्रवाह गर्ने एक अति महत्वपूर्ण माध्यम पनि मानिन्छ । यसलाई हिउँदे पर्वको प्रवेश विन्दु पनि भन्ने गरिन्छ । सामुहिक रुपमा खेलिने यो पर्वमा मानवीय संवेदना, प्राकृतिक प्रशस्ती, जीवनका यामआयाम, सामाजिक जनजीवनका अनुभवीय कुरा तथा अन्य गतिविधिहरुलाई लोकसंस्कारका माध्यमबाट प्रस्फुटन गर्ने एक सशक्त माध्यम र सन्देश मानिएको छ