दार्चुलामा सडक निर्माणमा विवाद : स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी

दार्चुलाको लेकम गाउँपालिका वडा नम्वर ३ मा स्थानियले तालाबन्दी गरेका छन् । भर्तोला–उकु–लाली–सेरा सडक निर्माण भइरहेकाले आ–आफ्नो बस्ती हुदै सडक निर्माणका लागि स्थानियले तालाबन्दी गरेका हुन् । एक करोड ७२ लाख लागतमा निर्माण हुन लागेको उक्त सडकको कार्यान्वयन सडक डिभिजन कार्यालय पाटनबाट भइरहेको छ ।

निर्माण व्यवसायी बिकास चन्दको कम्पनीसंग ठेक्का सम्झौता भई काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । सडकको ट्«याक आफ्नो बस्तीमा पर्र्नुपर्ने भन्दै लालीका एक थरी स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

वडा नम्बर ३ का बङतड, किम्तड, लाली बस्तीका स्थानीयहरुले मंगलबार दिउँसो वडा नम्बर ३ को वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । सेरा–लाली सडकको ट्«याक घोरेटो बाटो हुदै निर्माण गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेको लालीका स्थानीय विशन भण्डारीले बताउनु भयो । ‘घोरेटो बाटो हुदै सडक निर्माण गरिनुपर्ने माग गर्दै हामीले आज वडा कार्यालयमा तालाबन्दी गरेका हौँ’ भण्डारीले भन्नु भयो ।

घारेटो बाटो छोडेर माथिल्लो क्षेत्र हुदै सडक निर्माण गरिए घोरेटो बाटोमा समेत क्षेति हुने भएकाले आफूहरुले घोरेटो बाटो हुदै सडक निर्माण गरिनुपर्ने माग राखेको लालीका स्थानीय भबिन्द्र भण्डारीको भनाई छ । ‘घोरेटो बाटो भन्दा माथिल्लो क्षेत्रमा सडक निर्माण गरिए बाटोमा क्षेति पुग्ने देखिएको छ । त्यस कारण हामीले घोरेटो बाटो हुदै सडक निर्माणको माग गरेका हौँ’ भण्डारीले भन्नुभयो ।

घोरटो बाटो हुदै सडक निर्माण गरिए दुबै बस्तीलाई सहज हुने लाली क्षेत्रका स्थानीयहरुको दाबी छ । घोरेटो बाटो हुदै सडक निर्माण गरिए घोरेटो बाटो सडक निर्माणले क्षेति पुग्ने भएकाले बाटोको अस्तित्व समाप्त हुने स्थानीयहरुको भनाई छ । लेकम गाउँपालिका वडा नम्बर ३ का खम्डत र कौलीती बस्तीका स्थानीयहरुले घोरेटो बाटो भन्दा माथिल्लो क्षेत्र हुदै सडक निर्माण गरिनुपर्ने भन्दै सोमबार वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए ।

उक्त बस्तीका स्थानीयहरुले आफ्नो नजिक पर्ने गरी सडक निर्माण गरिनुपर्ने माग गरिरहेका छन् । यसरी दुई थरीका स्थानीयहरुले आ–आफ्नो बस्ती नजिक पर्ने गरी सडक निर्माण गरिनुपर्ने अडान लिइरहेका छन् । दुबै पक्षले आ–आफ्नो दबाव दिइरहेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष अहिले नेपाली कांग्रेसको पार्टी सुदृढिकरण गर्ने कार्यक्रममा लागेकाले वडा कार्यालयमा उपस्थित हुनुहुन्न ।

वडा अध्यक्ष वडा कार्यालय बाहिर रहेकाले उहाँ फर्किए पश्चात् मात्रै ताला खुल्न सक्ने अवस्था रहेको छ । ठेकेदारबाट जानकारी आएको वडा अध्यक्षसंग सल्लाह गरेर जनतालाई सहज हुने गरी सडक निर्माण गर्न सुझाएको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो । आफू जिल्ला बाहिर रहेकाले उक्त विषयका बारेमा वडा अध्यक्ष सहितको छलफल र वार्ता गरी समस्या समाधान गर्न उहाँले बताउनुभयो ।