धरहरा काठमाडौं उपत्यकाको मुख्य आकर्षणको रुपमा रहिआएको सर्वविदितै छ । धरहरा नेपालको राजधानी काठमाडौँको सुन्धारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो ।
वि.सं. १९९० भन्दा पहिला यसमा २२ तल्ला थियो यसको बार्दली नवौ तलमा रहेको थियो तर १९९० माघ २ मा आएको महाभुकम्पको कारणले बार्दली भन्दा माथीको १०–११ तला भत्किएको थियो र ९ तल्लाको रहेको होे ।
पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भै इतिहास बन्न गयो । धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लाग्नुभएको थियो ।
उहाँले यसको निर्माण महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगाउनुभएको थियो । भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ ।
सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो । बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो ।