हुम्लाको मारघोर हिमालमा रहेको पाँच हजार मिटर उचाइको स्थानमा रहेको भिमदुलामा एक सय ८ वटा सिंढीसहित भ्यूटावर निर्माण गरिएको छ । डिभिजन वन कार्यालय हुम्लाले ५० लाख रूपैयाँको लागतमा तयार गरेको भ्यूटावर र एक सय ८ सिंढीको निर्माण गरेको हो ।

महाभारतकालीन पाँच पाण्डवमध्ये महिला सदस्य भिमसँग यहाँको लोककथन जोडिएको छ । उनीहरु बाह्र वर्ष वनवास र एक वर्ष गुप्तवासको अवस्थामा रहँदा उनीहरु बसेको ठाउँमा जब राक्षसी प्रवृत्तिहरुको अत्याचार बढ्दै गयो । तब उनीहरुको बध गर्नका लागि विभिन्न तामसिक कामहरु गर्नु परेकाले यो गुफा पनि त्यही समय बनेको सिमकोट गाउँका अदानसिंह रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, सिंजाको पाण्डव गुफाबाट ढुंगा हानेर होल्मोलुङरिङको राक्षसलाई मार्न खोज्दा चंखेली, मारघोर हिमाल प्वाल पारेर सिमकोट खसेको जनश्रुति रहेको छ । हाल यो भिमदुला खार्पुनाथ गाउँपालिका र खर्केगाड गाउँपालिकाको बीचमा रहेको छ ।
यो हिमाल परापूर्वकालमा ऋषि महर्षिहरुको तपोभूमि भए पनि यहाँ नयाँ बस्ती गर्ने जातीय समुदायका कारण यहाँको इतिहास र जानकारी लोप भएको सर्केगाड गाउँपालिका राहदेउ गाउँका स्थानीय डा. दीपेन्द्र रोकायाको मत रहेको छ ।
यसको काखैमा रहेको दुधेदह र विभिन्न जडिबुटीहरुको खानी भएकाले पनि यहाँ एक पटक पुग्नै पर्ने ऐतिहासिक र धार्मिक स्थल भएको खार्पुनाथ गाउँपालिका दुर्पा गाउँका स्थानीय धनबहादुर ऐडीले जानकारी दिनुभयो ।
लामो समयको लकडाउनका कारण पनि स्थानीय, कर्मचारी, शिक्षक र अन्यहरु यहाँ पटकपटक जाने गरेका छन् । यो स्थान हुम्लाको एक सामाजिक तथा सांस्कृतिक महत्व रहेको एक महत्वपूर्ण पर्यटन स्थल पनि हो । यसको बारेमा ब्यापक रुपमा प्रचार प्रसार हुनुका साथै अत्यावश्यक भौतिक प्रर्वाधारको पनि खाँचो रहेको छ