विद्यार्थीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीय विष्णुप्रसाद आचार्य रहेका छन् ।
उनलाई सोमवार क्याम्पसबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले लोकपथलाई जानकारी दिए ।
एसएसपी अशोक सिंहका अनुसार प्राध्यापक आचार्यले छात्राहरुलाई सामाजिक सञ्जालमा अभद्र व्यवहार गरि ह्यारेस्मेन्ट गरेको आरोपमा पक्राउ परेका हुन् । “सामाजिक सञ्जालमार्फत छात्राहरुलाई अपशब्द प्रयोग गरी ह्यारेस्मेन्ट गरेको अभियोगमा प्राध्यापक आचार्यलाई पक्राउ गरिएको छ “। उनले भने, “त्यससम्बन्धी थप अनुसन्धान भइरहेको छ ।”
पक्राउ परेका प्राध्यापक आचार्यलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।