राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

प्रधानमन्त्री केपी शर्मा ओली समूहको काठमाडौंको दरबारमार्गमा हुने सभाका कारण यातायात सेवा प्रभावित हुँदा नागरिकलाई सास्ती भएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मानिसहरु भेला भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार दरबारमार्गतर्फ जाने भाडाका साना सवारी–साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पुतलीसडक, कृष्णपाउरोटी, लैनचौर, सोह्रखुट्टेबाट ड्राइभर्सन गरिएको छ ।

सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठूला सवारी–साधनलाई भने चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको छ । ड्राइभर्सनका कारण माइतीघर, सिंहदरबार, पुतलीसडक, कमलादी, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी–साधन केही ‘क्यु’मा चलिरहेका छन् ।

महाशाखाले कार्यक्रम अवधिभर सवारी–साधन ड्राइभर्सन हुने भएकोले सवारी–साधनका चालकलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न समेत आग्रह गरेको छ ।