काठमाडौं, । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकलाई पुनः अस्थिरतातिर धकेल्ने षडयन्त्र भएपछि मुलुकको अग्रगमनका लागि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय सरकारले गरेको बताउनुभयो ।
नेकपाद्वारा शनिबार विराटनगरमा आयोजित बृहद् कार्यकर्ता भेलामा सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताउनुएको हो । सरकारले चालेको कदम ऐतिहासिक र अग्रगामी कदम भएको उहाँले दावी गर्नुभयो । संविधानको स्पिरिटअनुसार नै प्रधानमन्त्रीले कदम चाल्नुभएको उहाँले प्रष्ट पार्नुभयो । “देशमा फेरि अस्थिरता उत्पन्न गर्न खोजिएको छ, कुनै बाह्य शक्तिबाट होइन, आन्तरिक शक्तिबाट भइरहेको छ” नेता बादलले थप्नुभयो, “अवसरवादीहरु, गुटबादी तथा पदलोलुपहरुले यो स्थिति जन्माएका हुन् ।” यो असमान्य परिस्थितिभित्र बाह्य शक्तिले पनि खेल्न खोजेको उहाँले चर्चा गर्नुभयो । प्रचण्ड–माधव पक्षको गोयबल्स शैली सफल नहुने उहाँले बताउनुभयो ।
नेपाललाई अस्थिरतामा धकेलेर देशको विकास अवरुद्ध गर्ने प्रयास ती तत्वहरुको रहेको चर्चा गर्नुहुँदै गृहमन्त्री थापाले भन्नुभयो, “अहिलेको राजनीतिक अवस्थाले नेपाली जनता आक्रोशित बनेका छन्, जनताको उपस्थितिले पनि त्यो कुरा पुष्टि गर्छ ।” पार्टीभित्र शुद्धिकरणको अभियान चलिरहेको बताउनुहुँदै नेता थापाले जनताकोबीचमा गएर अस्थिरता स्थायित्वमा बदल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रचण्ड–माधव पक्ष पनि भित्रभित्रै निर्वाचनको तयारीमा लागेको बताउनुहुँदै गृहमन्त्री थापाले भन्नुभयो, “संसदको पुनस्र्थापना गर्ने हो भने किन चाहियो उनीहरुलाई सूर्य चिन्ह ? चुनावमा जाने तयारी गरेकै कारण चुनाव चिन्हको दावी गरिरहेका छन् ।” अदालतले गर्ने फैसला आफूहरुलाई मान्य हुने र अदालतले निर्वाचनकै पक्षमा फैसला दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सरकारले काम गर्न खोज्दाखोज्दै पार्टी भित्रको असहयोगले ‘देखिने काम’ हुन नसकेको बताउनुभयो । संसद विघटनबारेको सर्वोच्चमा रहेको मुद्दा १५ गतेभित्र छिनोफानो लाग्ने उहाँले बताउनुभयो । सरकार प्रतिगमनमा गयो भन्ने बाहिर टिप्पणी भइरहँदा उहाँले भन्नुभयो, “प्रतिगमनको छेउछेउ पनि होइन, अग्रगमनका लागि हो, निर्वाचनबाट नयाँ प्रतिनिधिसभा गठन हुनेछ ।” यो भ्रम मात्र हो, कुनै आधार छैन भन्नुहुँदै नेता नेम्वाङ्ले प्रधानमन्त्रीलाई काम गर्न नदिंदा नयाँ बाटो रोज्नुभएको चर्चा गर्नुभयो । जनताबीच जानु प्रतिगमन नभएको उहाँले प्रष्ट पार्नुभयो ।