प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । उहाँले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला गरेर राजनीतिक अस्थिरतालाई होइन, राजनीतिक स्थिरताको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुनै प्रकारको षड्यन्त्र तिकडम केहि भएर देश र जनताको विरुद्ध फैसला भए आन्दोलनमा गएर त्यस्तो शक्तिलाई हराउने अभिव्यक्ति दिनुभएको छ ।
शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुर्नस्थापना भए सरकार बनाउने र ढाल्ने खेल हुने र लोकतन्त्र कमजोर बन्ने बताउँदै भन्नुभयो ,‘सम्मानीत अदाललते देशभर भएको सभालाई हेरेकै होला, सभामा प्रकट भएका जनताको अभिमत हरेकको होला ।’ उहाँले सर्वाेच्च अदाललले संविधानको मर्म र भावना हेरेको होला भन्दै संसद पुर्नस्थापना गर्दा देश दुर्घटनामा जाने दावी गर्नुभयो ।
‘प्रतिनिधिसभा विघटन संवैधानिक हो र देशलाई अस्थिरतामा लैजाने गरी अदालतले अन्यथा फैसला गर्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले अब संसद् पुनः स्थापना भएमा बहुमतको सरकार नहुने र अस्थिरता सिर्जना हुने बताउनुभयो ।
प्रधानमन्त्रीले आफ्नो सरकारले धेरै कामगर्न खोज्दा पार्टीभित्रैबाट र संसद्बाट असहयोग भएकाले ताजा जनादेशमा जानुपरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले गुमेको भूभाग फिर्ता ल्याउन नक्सा प्रकाशन गरेकै दिनदेखि पार्टीभित्रबाट प्रधानमन्त्री हटाउन खोज्नु दुर्भाग्यपुर्ण भएको बताउनुभयो ।