ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा बैंक नहुँदा स्थानीयलाई बैँकीक कारोबार गर्न समस्य भएको छ । गाउँपालिकामा सेञ्चुरी बैंकले शाखा स्थापना गर्ने भनेपनि समयमै शाखा विस्तार नगरेपछि स्थानीयवासीले आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको गाउपालिका स्रोतले जनाएको छ ।
सङ्घीय संरचनामा गएसँगै विसं २०७४ को असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोवार गर्न बैंकले आफ्नो शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेपनि मिक्वाखोला गाउँपालिकामा भने अझै सेञ्चुरी बैंकले शाखा स्थापना गरेको छैन ।
गाउँपालिकामा बैंक नहुँदा गाउँपालिकाको आर्थिक कारोवार गर्न ताप्लेजुङ सदरमुकाम जान बाध्य हुँदै आएको गाउँपालिकाका लेखा अधिकत प्रशान्त भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोवार गर्न कठिनाइ भएको छ । हामै्र तलब निकासा गर्न समेत सदरमुकाम चेक बोकेर पुग्नुपर्दछ ।
सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत समस्या परेको छ । स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोवारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने निर्देशन दिएको छ तर मिक्वाखोलामा बैंक नहुँदा बैंकमार्फत सामाजिक सुरक्षा भत्तालगायतका आर्थिक कारोवारमा समस्या हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, हामीले धेरै पटक सेञ्चुरी बैंकलाई गाउँपालिकामा शाखा विस्तार गर्न अनुरोध गर्यौँ तर विभिन्न बहाना गर्दै शाखा स्थापना गरेको छैन ।