गत साता क्रमिक ओरालो लागिरहेको सुनको मूल्य फेरि बढ्न थालेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भइरहँदा यसको असर स्थानीय बजारमा परेको छ ।
अघिल्लो दिनको भन्दा तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ८९ हजारमा स्थिर रहेको थियो ।
गत साता सुनको मूल्य घट्ने क्रममा प्रतितोला ९० हजार ९ सय रुपैयाँ भएको थियो । त्यसपछि लगातार घट्दै प्रतितोला ८८ हजार २ सय भएको सुन फेरि बढ्दै तोलाको ९० हजार रुपैयाँ पुगेको छ । सुनको मूल्य तीन दिनमा प्रतितोला १९ सय रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ कायम भएको छ । सोमबार तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक उकालो लागेको छ । गत साता सुनको मूल्य प्रतिऔंस १७६७.५१ डलरमा आइपुगेको थियो । यो साता मूल्य बढ्दै प्रतिऔंस १८१२.५७ डलर भएको छ ।
चाँदीको मूल्य प्रतिऔंस २८.१६ डलरमा कारोबार भइरहेको संचार माध्यमले जनाएका छन ।