कर्णाली
चुचलढुङ्गाको कालो ऐँसेलु औषधीको खानी

प्राकृतिक तथा सांस्कृतिक विविधताको गाथा खोज्न हुम्लालाई रोज्दा कुनै फरक नपर्ला ? यसैले पनि यो हिड्डन प्लेस हो, भर्जिनल्याण्ड हो, नेचुरल एण्ड कल्चरल म्युजियम पनि हो । यो हुम्लाको दक्षिण पूर्वी कुनामा रहेको चंखेली गाउँपालिकाको एक महत्वपूर्ण स्थान मिमी गाउँमा रहेको एक पथक स्थान हो चुचल चुचल ढुङ्गा । यहाँ हुने कालो ऐँसेलुलाई विभिन्न रोगको उपचारका लागि प्रयोग गर्ने गरिएको छ ।
यो ठाउँ दार्माका गर्खाली र मिमीका मिम्यालहरूको वर्षाले खर्क र एक उर्बरस्थल पनि हो । यहाँ चिनु, कागुनो, कोदो र विभिन्न प्रकारका तेलहन र दलहन बालीका लागि मुख्य ठाउँ पनि हो । यसको वरपर विभिन्न प्रकारका बर्षाले वनेलु फलफुलहरूले सुशोभायमान बनाएका छन् । यसैले पनि यो ठाउँ मान्छेको लागि मात्र नभएर वनेलु पशुपन्छीको पनि एक मायालु भूमि पनि चैत्रदेखि कात्तिकसम्म मान्छे र बाँदर गुनीसँग कुस्ती र जुहारी चल्ने गर्ने गरेको चंखेली २ दार्मा गाउँका स्थानीय तिलक शाहीले जानकारी दिएका छन् ।
वनेलु जीवहरू प्राकृतिक प्रदत्त अधिकारका स्वामीको रुपमा विचरण गर्न आफुलाई फुक्काफाल गादा हाल भन्ने सिद्धान्त अपनाएर यत्रपत्र सर्बत्र आवतजावत गर्दछन् । मानिसहरू आफुलाई प्रकृतिको सर्वश्रेष्ठ जन्तु भनेर सबैको दोहनको स्वामी ठान्दा र मान्दा शक्ति संघर्षले एक सय पाँच डिग्रीको तापमान सृजना गर्दछ । मानिसहरूले लगाएका अन्नबालीको सुरक्षा गर्न गाह्रो पर्छ ।
वर्षा समयमा यहाँ हुने विभिन्न प्रकारका वनेलु फलफुलहरू धेरै हुनु नै यसको पहिलो चुनौति हो । यहाँ डिम्मर, मलेवा, रातो, पहेँलो, सेतो र कालो ऐँसेलु धेरै हुने भएकाले बाँदरले अति नै दुःख दिंदा लगाएको बालीनाली समेत जोगाउन अति गाह्रो हुने चंखेली ३ मिमी गाउँका देउबरी रोकायाको अनुभव रहेको छ ।
स्थानीयस्तरमा कालो ऐँसेलु फल मात्र नभएर यो एक हर्बल प्रोडक्ट हो । यसलाई विभिन्न प्रकारका रोगहरु जीउ दुखेको, पेट, आँखा, छाला, जुका, टाउँको, चाया, हाड र शीत ज्वरो लगायतका धेरै रोगके उपचारका लागि एकल र सामुहिक रुपमा प्रयोग गर्ने गरिन्छ । नेपाली र विदेशी विकासे कार्यकर्ताहरूले ब्ल्याक बेरीको नाममा प्रचारित यो फल विभिन्न प्रकारका रोगहरूको निदानको एक बहुउपयोगी मन्त्र र सूत्र मानिएको छ ।
चाहे बालबालिकाहरूलाई झाडापखाला लागोस् कि पेटमा कुनै विकार उठोस् । चाहे शित ज्वरोले सिकिस्त बिरामी होस् कि घाम लागेर थला परेको व्यक्ति होस् । कुनै घाउ खटीराको व्यथा होस् कि टाउको दुखेर व्यथित भएको मानिस होस् । यो कालो ऐँसेलुलाई एक र अन्य विभिन्न प्रकारका जडिबुटीहरूसँग मिसाएर बनाएको घरेलु औषधीका विविध रुपहरू जस्तै लेप, क्वाथ, फान्ट, हिम, चुर्ण आदिका रुपहरू प्रयोग गरेर हाम्रा जैविक ज्ञानका जानकारहरू रोगलाई पर पर भगाउन सफल भएका छन् । यसैले पनि यसलाई आर्युवेर्दिक उपचारका लागि एक अति महत्वपूर्ण बुटी मानिएको सन्र्दभ स्वास्थ्य सेवा कार्यालय, आयुर्वेद शाखा हुम्लाका प्रमुख कृष्णचन्द्र जोशी बताउँछन् ।
स्थानीयस्तरमा विभिन्न प्रकारका रोगहरूको लागि प्रयोग गरिने यहाँको कालो ऐँसेलुको सुधार, संरक्षण, खोज र प्रचार प्रसार गर्न सकेको खण्डमा हर्बल टुरिज्मको एक आधार बनेर आम्दानीको स्रोत बन्न सक्नेतर्फ स्थानीय र जिम्मेवार निकायले सोच्नु पर्ने बेला आएको छ । यसलाई स्थानीयकरण र व्यावसायिकरण गर्न सकेमा राम्रो आम्दानी हुने देखिन्छ ।