ऐतिहासिक र पर्यटकीय महत्वको तनहुँसूर ओझेलमा - Palikanews.com
Connect with us

गण्डकी

ऐतिहासिक र पर्यटकीय महत्वको तनहुँसूर ओझेलमा

  • 43
    Shares

व्यास नगरपालिका वडा नम्बर ११ स्थित तनहुँसूर ऐतिहासिक र पर्यटकीय सम्भावना हुँदाहँुदै ओझेलमा परेको छ । समुद्री सतहबाट एक हजार २४५ मिटर उचाइमा रहेको तनहुँसूर पहिलेजस्तो भरिभराउ छैन, यहाँका बासिन्दा शहरकेन्द्रित भएका छन् । अर्कातर्फ सरकारले पनि यसको ऐतिहासिक र पर्यटकीय महत्वलाई उजागर गर्ने खालका कुनै कार्यक्रम ल्याउन सकेको छैन । यसरी राष्ट्रिय महत्वको यो स्थल यतिखेर ओझेलमा परेको पाइएको छ ।

बाइसे चौबीसे राज्यका पालामा एक समृद्ध र शक्तिशाली राज्यका रूपमा स्थापित नेपालकै एक महत्वपूर्ण ऐतिहासिकस्थल हो तनहुँसूर । यो स्थल सदरमुकाम दमौलीबाट करिब २१ किलोमिटर दूरीमा रहेको छ । विसं १६१० सम्म पाल्पा राज्यअन्तर्गत पर्ने तनहुँ राज्य तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेन प्रथमले आफ्ना छोरालाई भागवण्डा गरेको समयदेखि विसं १८३९ सम्म एक स्वशासित अखण्ड राज्यका रूपमा तनहुँसूर रहेको थियो । प्रथम राजा भृङ्गी सेनदेखि अन्तिम राजा हरकुमार दत्तसेनसम्म करिब २३० वर्षको अवधिमा विभिन्न नौ सेनवंशी राजाले राज्य गरेको राजधानीको नाम हो तनहुँसूर ।

तनहुँसूरको टुप्पोमा रहेका तीनवटा टाकुरालाई त्रितुङ पनि भन्ने गरिन्छ । त्रितुङबाट अपभ्रंश भई तनुङ हँुदै तनहुँ नामाकरण हुन गएको इतिहासविद्हरुको भनाइ पनि पाइन्छ । ऐतिहासिक, पुरातात्विक एवं प्राकृतिक दृष्टिले महत्व बोकेको प्राचीन स्मारकस्थलका रूपमा तनहुँसूर परिचित रहेको छ ।

विसं २००७ को क्रान्तिमा बन्दीपुर अड्डा कब्जा गर्ने क्रममा तनहुँसूरका धर्मराज श्रेष्ठ, सन्तबहादुर राना, चन्द्रबहादुर सार्की र उत्तरकुमार श्रेष्ठले शहादत प्राप्त गरेका थिए । त्यसैगरी सोही क्रान्तिमा वसन्तपुरका खड्कबहादुर गोदार र पुलिमराङका धर्मध्वज गुरुङले पनि शहादत प्राप्त गरेपछि उनीहरुको सम्मानमा तनहुँसूरमा छ जनाको पूर्णकदको शालिकसहितको शहीद उद्यान (पार्क) निर्माण गरिएको छ ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र जननिर्वाचित प्रतिनिधिले स्थानीय सरकारमार्फत सेवा प्रवाह पनि गर्दै आएका छन् । सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्न थालेसँगै आफ्नो पालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृति पर्यटकीय क्षेत्रहरुको खोजी अनुसन्धान गर्दै संरक्षण र संवद्र्धनका लागि चासो दिन पनि थालेका छन् । यस्ता अभियानले आफ्नो क्षेत्रको विकासका लागि मद्दत पनि गर्न सक्छ । तर तनहुँसूरमा भने यस्तो चासो कमै मात्र पाइएको छ ।

पर्यटकीय दृष्टिकोणले प्रचूर सम्भावना बोकेको भए पनि यसको प्रचारप्रसार हुन नसक्दा यो ऐतिहासिकस्थल भने ओझेलमा पर्दै गएको व्यास नगरपालिका–११ का वडाध्यक्ष नीरबहादुर खड्काले बताउनुभयो । तनहुँसूरको महत्व बुझेर यस क्षेत्रको मुहार फेरिने गरी विकास निर्माणका कार्य तथा प्रचारप्रसारका गतिविधिलाई तीव्ररूपमा अघि बढाउन थालिएको छ । उहाँले भन्नुभयो, “तनहुँसूरको गरिमा र महत्वलाई बुझ्न नसक्दा तनहुँसूर जहाँको त्यहीँ छ, बन्दीपुरले समयमै आफूलाई चिन्न सक्दा पर्यटकीय दृष्टिकोणले फड्को मारेको छ ।”

अहिले भने तनहुँसूरस्थित तनहुँसूर दरबारको पुनःनिर्माणपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा स्थानीय बासिन्दाले गर्न थालेका छन् । जीर्ण बन्दै गएको दरबारको पुरातत्व विभागले उत्खनन गरेपछि पुनःनिर्माण शुरु गरेको हो । यो दरबारको पुनःनिर्माण रु ७० लाखको लागतमा भइरहेको छ । दरबार निर्माणपश्चात पर्यटकहरुको थप आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।

विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसूर अहिले भने उजाडजस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ भने हाटबजार पनि घटेका छन् । विकास र व्यापारको खोजीमा तनहुँसूरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायतका ठाउँमा बसाइँ सरेर गएपछि तनहुँसूर बस्तीविहीन बन्दै गएको हो । पछिल्लो समयमा तनहुँसूरमा विकास निर्माणका साथै मानिसका लागि आवश्यक पर्ने आधारभूत सुविधा पुग्ने क्रम भने अर्कातर्फ शुरु पनि भएको छ । यसबाट पनि यसअघि छाडेर गएका यहाँका बासिन्दा पुनः गाउँमै फर्किने अभियान पनि शुरु हुनसक्ने यहाँ बसोबास गरिरहेका स्थानीयवासीको आशा छ ।

तनहुँसूर भ्रमणका मुख्य आकर्षण के–के छन् ?

तनहुँसूर भ्रमणका लागि जाने आन्तरिक एवं बाह्य पर्यटकहरूले प्रसिद्ध हिमशृङ्खलाका साथै हिउँदमा वरिपरि उपत्यकामा लाग्ने कुहिरोको मनोरम दृश्यले त्यहाँ पुग्ने जो कोही पर्यटकको मन सजिलै लोभ्याउनेछ । तनहुँसूर उचाइमा रहेकोले त्यहाँबाट सूर्योदय र सूर्यास्त, तत्कालीन बाइसे चौविसे राजाहरुले प्रयोग गरेका दरबार तथा हातहतियारका अवशेष अझै पनि देख्न सकिन्छ ।

त्यसैगरी राजपरिवारले प्रयोग गरेका किल्ला, गढी, धारा, तोप, तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा अझै पनि सजिलै देख्न सकिन्छ । साउने कुवा, कुँडापानी, बाइस सिँढी चौतारी, ढुङ्गेसाँघु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, विष्णु शिव मन्दिर, चोरलाई सजाय दिने किल्ला, हात्ती बाँध्ने किल्लालगायतका ऐतिहासिकस्थलले पर्यटकको मन सजिलै आकर्षण गर्दछ ।

नेवार, मगर र दलित समुदायको बस्ती रहेको तनहुँसूरमा पछिल्लो समय सडक, बत्ती, खानेपानी, सञ्चार, स्वास्थ्यचौकी, सामुदायिक भवन, माध्यमिक विद्यालय, कृषि सहकारी र वाइफाइको समेत सुविधा पुगिसकेको छ । यस क्षेत्रको विकासका लागि व्यास नगरपालिका कार्यालयले प्राथामिकतामा राखेर काम गर्दै आएको छ ।

तनहुँसूर इकोट्रेकको व्यवस्था

तनहुँसूर क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँसूर पर्यटन सम्पदा तथा वातावरण मेलाको अवसरमा तनहुँसुर इकोट्रेकको परिचयात्मक भ्रमण कार्यक्रम राखिएको छ । यही आउँदो वैशाख ५ देखि ७ गतेसम्म तनहुँसूर पर्यटन सम्पदा वातावरण मेलाको अवसरमा इको ट्रेकको कार्यक्रम राखिएको हो ।

उक्त ट्रेक व्यासनगरपालिका–११ को मूलपानीस्थित चमेरे गुफाबाट भगवती पानी–तनहुँसूर देवस्थल सामुदायिक घरवास हुदै तनहुँसूरगढीसम्मको करिब सात किलोमिटर दूरीको यात्रा गरिने छ । पदयात्रीका लागि गार्डसहितको विशेष भ्रमणको प्याकेज तय गरिएको बताइएको छ । उक्त मेला अवधिभर तनहुँसूरअन्तर्गतका पुरातात्विक सम्पदा एवं जैविक विविधतासम्बन्धी विभिन्न सामग्री फोटो, भिडियोलगायतको प्रदर्शनीकक्ष सञ्चालन गरिने बताइएको छ ।

ओझेलमा पर्दै गएको तनहुँसूर क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविधतायुक्त पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न र तनहुँसूरमा सञ्चालनमा रहेका तनहुँसूर सामुदायिक र तनहुँसूर देवस्थल सामुदायिक गरी दुई घरवासको प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक एवं इञ्जीनियर धुव्रराज पण्डितले जानकारी दिनुभयो । मानव बस्ती नहुँदा उजाड बन्दै गएको तनहुँसूर क्षेत्रलाई पुनः हराभरा बनाउन र यहाँका विविधताको प्रचारप्रसार गरेर पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित गराउने उद्देश्यले मेला महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । (रासस)

  •  
    43
    Shares
  • 43
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

कोभिड–१९ नियन्त्रणको प्रयास : धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन

मुख्य समाचार51 years ago

पछिल्ला तीन दिन यता रुपन्देहीमा संक्रमण र मृत्यु दर घट्दै

बागमती51 years ago

काठमाडौं उपत्यकामा थपिए २,६०९ जना कोरोना संक्रमित

मुख्य समाचार51 years ago

थप ७,३१६ सङ्क्रमित थपिए, ६,६४८ जना डिस्चार्ज, १४५ सङ्क्रमितको मृत्यु

बागमती51 years ago

संसदबाटै बजेट ल्याउने प्रधानमन्त्री ओलीको संकेत

शिक्षा / स्वास्थ्य51 years ago

एमालेको अन्तरिक समस्या समाधान गर्न कार्यदल गठन

बागमती51 years ago

चाँगुनारायण नगरपालिकामा १०० श्ययाको आइसोलेशन तयार

समाचार51 years ago

होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई नगरपालिकाको कोसेली

बागमती51 years ago

प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा छलफल सुरु

बागमती51 years ago

असार १ गतेदेखि शुरु हुने शैक्षिकसत्र अन्योलमा

प्रदेश १51 years ago

राजापानीबाट भरुवा बन्दुकसहित ४ जना पक्राउ

कर्णाली51 years ago

सामाजिक विकास समितिको प्रदेश सरकारलाई निर्देशन

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement