उखु किसानहरु पुन आन्दोलनका लागि काठमाडौं

चिनी उद्योगहरुले उखु बिक्री गरेका किसानहरुका अझै भुक्तनी नदिएपछि किसानहरु पुन आन्दोलनका लागि काठमाडौं आएका छन् ।

सरकार र उद्योगीले प्रतिवद्धता जनाएअनुसार रकम नदिएपछि एउटै विषय लिएर पाँचौ पटक काठमाडौं आएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ । ६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको समितिका सचिव हरेश्याम राय यादवले जनाकारी दिनुभयो ।

‘हामीलाई सरकार र उद्योगी दुवैले झुलाए ६ वटा मिलबाट ४१ करोड रुपैयाँ अझै भुक्तानी पाउन बाँकी छ,’ सचिव रायले भन्नुभयो, ‘सरकारलाई हाम्रो बक्यौता उठाइदेऊ भन्न चाहान्छौं, सकेसम्म प्रधानमन्त्रीलाई भेटेर किसानको गुनासो सुनाउन चाहान्छौं ।’

सरकार नयाँ भएकाले बक्यौता उठाइदिन आग्रह गर्ने र त्यसपछि पनि रकम नउठे आन्दोलनका कार्यक्रम घोषणा गर्ने समेत समितिले जनाएको छ ।

सचिव यादवका अनुसार अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दीरा चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

यस्तै सरकारले उखु किसानलाई अनुदान दिएको तर उद्योगले हिसाब मिलान नगरेको साढे ६ करोड हाराहारी रकम किसानले पाउन बाँकी रहेको यादवले बताउनुभयो ।