पुर्चौडी नगरपालिकाको कार्यालय र वडाहरुमा तला

बैतडी जिल्लाको पुर्चौडी नगरपालिकाको १० वटै वडा कार्यालयमा आज तालाबन्दी गरेका छन् । नगरपालिकाले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब रु १५ हजार पु¥याउने घोषणा गरेको भए पनि कार्यान्वयन नगरेको भन्दै बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित भएका हुन । उनीहरुले नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा आज तालाबन्दी गरिएको छ ।

नेपाल सरकारले बजेट भाषणमार्फत तलब बढाउने घोषणा गर्ने तर नगरपालिकाले कार्यान्वयन नगरेकाले आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको लटिनाथ आधारभूत सलेलीगाउँमा कार्यरत बालविकास सहजकर्ता द्रोपती खत्रीले बताउनुभयो ।

यसअघि विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुले तलब बढाउनुपर्ने माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । उहाँले भन्नुभयो, “हाम्रा मागको सम्बोधन नहुुँदासम्म तालाबन्दी जारी रहन्छ ।” नगरपालिकाकी उपप्रमुख जानकी ऐर बमले उनीहरुको मागका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरिने बताउँदै तत्कालका लागि ताला खोल्न आग्रह गर्नुभयो ।

पुर्चौंडी नगरपालिकामा बालविकास सहजकर्ता र विद्यालय कर्मचारी गरी कूल १५१ जना कार्यरत छन् ।