दाङमा बाढीले जीप बगाउँदा दुई दिदीबहिनीको मृत्यु, दुई बेपत्ता

बाढीले जीप बगाउँदा दुई जनाको मृत्युभएको छ भने दुई जना बेपत्ता भएका छन् । जिल्लाको घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका वडा नम्बर ४ सिस्ने खोलामा आएको बाढीले गएराती गाडी बगाउँदा एकै घरका दुई दिदीबहिनीको मृत्युभएको हो ।

अन्य दुई जना महिला बेपत्ता भएको भएको प्रहरीले जनाएको छ । चालकलाई भने प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको गाडीलाई बाढीले बगाएको थियो ।

घटनामा परि घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ३२ बर्षीया सुशिला श्रेष्ठ र ३० बर्षीया राधा श्रेष्ठ कुवरको शब फेला गरेको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुभयो ।

मृतक राधा र सुशीला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु रहेको उहाँले बताउनुभयो । घटनामा घोराही १३ का ४० बर्षीया रीतामाया पुन र घोराही १४ का ४२ बर्षीया विमला केसी बेपत्ता भएका छन् ।

बेपत्ता दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । चालक घोराही १५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुभयो ।