पुराना सम्पदाहरुको संरक्षण गर्नु हाम्रो महत्वपूर्ण काम हो : नगर प्रमुख प्रजापति (भिडियो अन्तरवार्ता)

भक्तपुर नगर विश्व सम्पदा सूचिमा रहेको क्षेत्र हो । एउटा विश्व सम्पदा सूचिमा सुचिकृत सांस्कृतिक नगर, त्यसैले हाम्रो एउटा महत्वपूर्ण काम भनेको पुराना सम्पदाहरुको संरक्षण गर्नु हो ।

त्यसैले मौलिक प्रविधि र हाम्रै निर्माण सामग्री प्रयोग गरेर हामीले सम्पदाहरुको पुनः निर्माणलाई जोड दिएका छौ । परिणामस्वरुप आज पाँच तले मन्दिर जस्ता विश्व प्रख्यात मन्दिरको जिर्णोद्धार सम्पन्न गरिसकेका छौँ, कुनै विदेशीको सहयोग विना सम्पन्न गरिसकेका छौ ।

त्यस्तै गरि भैरवनाथको मन्दिरको निर्माण कार्य पनि सम्पन्न गरिसकेका छौ । लाकुढोका दरबार देखि लिएर भूकम्पपछि आज सम्म १०८ वटा सम्पदाहरुको पुर्ननिर्माण कार्य सम्पन्न भैसकेको छ भने डेढ दर्जन सम्पदाहरु पुनःनिर्माणको क्रममा छन् । यो हिसावले भन्नुपर्दा हाम्रो मुख्य ध्यान सम्पदा पुनःनिर्माण र संरक्षणमा गएको छ । त्यसै गरि २५ बेडको फप अस्पताल हामीलाई स्वीकृति प्राप्त छ ।

अहिले ७६ करोडको लागतमा नगरपालिकाकै खर्चमा पाँच तले अस्पतालको भवनको निर्माण करिब करिब ढलान समेत भैसकेको अवस्था छ । भित्री कामहरु भैरहेको छ । छ आठ महिनामा त्यो सम्पन्न हुने आशा गरेका छौं ।

यो कुरा हाम्रो घोषणपत्रमा पनि उल्लेख थियो । त्यसैगरी हामीले निर्वाचनको बेलामा वाचा गरे अनुसार भक्तपुरको मुल सडकको ३ किलोमिटर बाटोलाई ढुङगा छाप्ने भनेका थियौं र त्यो काम पनि अहिले सम्पन्न भैसकेको छ । यसरी भन्दा हामीले सम्पदा संरक्षणदेखि विकास निर्माणका कार्यलाई अगाडि बढाएका छौं ।

काठमाडौँको रानीपोखरी भन्दा ४० वर्ष अगाडि निर्मित भक्तपुरको रानीपोखरी ४० साल देखि नेपाली सेनाको कब्जामा रहेको थियो । हामी निर्वाचित भएर आइसकेपछि सेनासंग पटक पटक पत्राचार र छलफल गरी डेढ वर्ष पछि नगरपालिकाले नै निर्माण सम्पन्न गर्ने गरि त्यो रानीपोखरी प्राप्त गरेका छौं । यसरी थुप्रै निर्माणका कामहरु भैरहेका छन् ।