बीमाको पहूँच स्थानीय सरकारमा पुर्याउदै बीमा समिति

बीमा समितिले देशैभरी बीमा साक्षरताका कार्यक्रम संचालन गर्ने भएको छ । यस आवमा १५ वटा पालिकामा मात्र काम गर्न सकेको समितिले यो वर्ष बाँकी जिल्लाका ११५ स्थानीय तहमा काम गर्ने बताएको छ ।
सरकारले लिएको घर बीमा योजना अनुरुप समितिले यो काम गर्न लागेको हो । यसका लागि समितिले दुई चरणको कार्यक्रम निर्धारण गरेको छ । पहिलो चरणमा महानगर पालिका, उप महानगर पालिका र नगरपालिका तथा वडा कार्यालयहरुमा एवम प्रतिनिधिलाई दिने जनाएको छ । त्यसपछि प्रत्येक घर परिवारलाई बीमाको उद्देश्य र औचित्यको बारेमा जानकारी गराइ सोही अनुरुप बीमा गर्नका लागि प्रोत्साहन गर्ने योजना अनुरुप यो काम गर्न लागिएको हो । बीमा कम्पनीलाई पनि आफ्नो शाखा संजाल विस्तार गरी प्रभावकारी सेवा प्रदान गर्ने बताइएको छ । यसको लागि स्थानीय तहको छनोट गरी कार्यक्रम गर्ने योजना रहेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनु भयो ।
समितिले बाली तथा पशु बीमालाई अझ जनस्तरसम्म पुर्याउन स्थानीय सरकारको कामलाई प्रभावकारी हुने र लक्ष्य पनि पुरा हुने जानकारी गराउनु भयो ।
स्थानीय सरकारसँग बीमाका बारेमा छलफल गर्नुको कारण पनि त्यहाँ विभिन्न स्तरका मानिसहरु छन् । जसको स्तर पुगेको हुन्छ, त्यसलाई बीमा गर, नभए सेवा–सुविधा दिंदैनौं, बीमा गर्यों भने तिम्रो भविष्यको भरथेग हुन्छ भन्नुपथ्र्यो । ज्यादै गरिब मानिसका लागि पालिकाहरु आफैंले बीमाको व्यवस्था गर्नुपर्छ । अलिकति पैसा राखेर सामूहिक रुपमा बीमा गराइदिने हो भने भोलिका दिनमा प्राकृतिक विपत्तिका बेला पालिकाले चिन्ता लिइरहनु पर्दैन । त्यो जोखिम बीमा कम्पनीले व्यहोर्छ ।
क्रमागत रुपमा बीमाको अवधारणा र उद्देश्य ७५३ वटा पालिकामा नै पुर्याउने लक्ष्य रहेको छ ।
हाल जीवन बीमा कम्पनी १९, निर्जीवन बीमा कम्पनी २० र पुनः बीमा कम्पनी २ वटा रहेका संचालनमा रहेका छन् । यही आबमा हिमालयन पुनः बीमा कम्पनी संचालनको तयारीमा रहेको छ ।

ओलढुङ्गामा बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

स्थानीय तहहरूमा बीमासम्बन्धी जनचेनामूलक कार्यक्रमहहरू अभियानका रूपमा संचालन गर्दै जाने क्रममा प्रदेश नं. १ को ओखलढुङगा जिल्लाको सिद्धिचरण नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुँदे बीमाको परिचय, बीमाको महत्व तथा फाइदा, बीमा गर्ने तरिका, बीमा दावी भुक्तानी प्रक्रिया र बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि स्थानीय तहको भूमिकाका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यकारी निर्देशक पौडेलले सबै नागरिक बीमाको दायरामा आएमा विपद्का समयमा बीमाले नै क्षतिपूर्ति वापतको आर्थिक दायित्व व्यहोर्ने भएकाले त्यस्तो दायित्वबाट सवै तहका सरकारहरू मुक्त हुने र जनता पनि लाभान्वित हुने बताउनुभयो ।
साथै, उहाँले बीमाको दायरा विस्तारका लागि नीति तथा कार्यक्रममा बीमा गर्दा कर छूट दिने लगायतका विभिन्न प्रोत्साहनका कार्यक्रमहरू ल्याउन नगरपलिकासँग आग्रह गर्नुभयो ।


कार्यक्रममा सिद्विचरण नगरपालिकाका प्रमुख मनोजकुमार श्रेष्ठले बीमाले भविष्यमा आइपर्ने विपद्का कारण हुने क्षतिका विरूद्ध आर्थिक सुरक्षा गर्ने भएकाले सबै नगरवासीलाई बीमाको दायरामा ल्याउन नगरपालिकाले छिट्टै महत्वपूर्ण निर्णय गर्ने जानकारी दिनुभयो ।
उहाँले बीमा क्षेत्रमा देखिएको दावी भुक्तानीको समस्याको निराकरणका लागि बीमा समिति विशेष कार्यनीतिका साथ अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
यसैगरी, सिद्धिचरण नगरपालिकाकी उपप्रमुख इच्छाकुमारी गुरूङ्गले कृषि बीमाबाट न्यून आय भएका किसानलाई धेरै राहत पुग्ने गरेको चर्चा गर्नुहुँदै पशुपन्छी बीमामा व्यवस्था गरिएको घरपालुवा जनावरको बिमाङ्क रकममा बृद्धि गर्न कृषकहरूले माग गर्दै आएको बताउनुभयो ।