हाइम्याक्स बत्तिले विद्युत खपत बढाउने तयारीमा महानगर

ईश्वरमान डंगोल
प्रवक्ता, काठमाडौं महानगरपालिका

देशकै ठूलो र राजधानीको केन्द्र रहेको काठमाडौं महानगर पालिका सधैँ समस्यामा हुन्छ । कहिले फोहोर, कहिले पानी त कहिले अध्यारा गल्लीको समस्या झेल्दै आएको काठमाडौं एउटा पुरातन र इतिहास बोकेको सहर हो । कुरुपताले छोपिदै गएको यो सुन्दर सहरलाई राम्रो बनाउनका लागि महानगरपालिकाले के कस्ता काम गरिरहेको छ त भन्ने विषयमा प्रवक्ता ईश्वरमान डंगोलसँग बोधराज पौडेलले गर्नुभएको कुराकानी ।

सरकारले विद्युत खपत बढाउने लक्ष्य लिएको छ, यसमा सहयोग पुर्‌याउन महानगरको उज्यालो सहरको अवधारणाको हाइमाक्स बत्तिको तयारी कति पुरा भयो ?
हामीले उज्यालो सहरको अवधारणा हाम्रो कार्य योजनामा राखेको विषय नै हो । सरकारले पनि विद्युतको खपत बढाउने लक्ष्य राखेको छ । यो दुवै पक्षको योजनालाई सम्बोधन गर्ने कार्यक्रम जस्तो देखिएपनि यो विशुद्ध हाम्रो कार्यक्रम हो ।
हाम्रो तर्फबाट भन्ने हो भने यसले सरकार र नागरिक दुबैलाई फाइदा भने अवश्य दिने छ । टोल उज्यालो भयो भने एक त वत्तिको खपत बढ्छ । दोस्रो कुरा नागरिकको सुरक्षा पनि हुन्छ । यसको अलवा आवतजावतमा समेत सहज हुनेछ ।
अहिले १० हजार स्थानमा यो सेवा सुरु हुन गइरहेको छ । यसका लागि हामीले काम गरिरहेका छौ । हाइम्याक प्रविधियुक्त बत्तिहरुको जडान गर्ने तयारी भइरहेको छ । यो वत्ति बलेपछि वत्तिको केन्द्रबाट पाँचसय मिटरसम्म देख्न सकिन्छ ।
उज्यालो भएपछि सिसिक्यामेराले पनि काम गर्छ । जसले टोल वस्तीमा हुने अवाञ्छिनीय घटनालाई रोक्नका लागि मद्दत गर्छ । यो काम गर्नका लागि नेपाल प्रहरीसँग साझेदारितामा काम भइसकेको छ । वत्ति र सिसिक्यामेरा जडान भएपछि चोरीलगायतका अन्य घटना कमि गर्नमा सघाउ पुग्छ ।

भुकम्पपछिको पुनः निर्माणको काम कति भयो ? र, मुख्य रुपमा हेरिएको काष्ठमाण्डपको काम कति सम्पन्न भयो त ?
भूकम्पबाट क्षति भएको काष्ठमण्डप निर्माणको काम पुरा हुने चरणमा रहेको छ । अहिले यसको ८० प्रतिशत काम सम्पन्न भएको छ भने २० प्रतिशत काम पनि चाडै सक्ने तयारीमा महानगर रहेको छ । स्वयम्भुको महाविहार र गुम्बाको पुन निर्माणको काम सम्पन्न भइसकेको छ । यसका साथै हनुमानढोका र वरपरका विभिन्न मठ–मन्दिर निर्माणका काम पनि सम्पन्न भइसकेको छ ।
त्यसै गरी अशोक विनायकको गुठीघर निर्माण सम्पन्न भएको छ । हामीले सम्पदा क्षेत्रभित्र पर्ने जात्रा, पर्व र गुठीका घरहरुको निर्माण गर्ने काम पनि सकिएको छ ।

महानगर पालिकाले सहरको सौन्दर्य बृद्धि गर्न र मनोरञ्जनका लागि पार्क निर्माण गर्ने लक्ष्य लिएको थियो, निर्माणको काम कति पुरा भयो र कति हुने तयारीमा रहेका छन् ?
काठमाडौं महानगरपालिका नेपालकै ठूलो सहर र देशको राजधानी भएका कारण पनि यहाँ धेरै चाप छ । यो चाप बढ्दै गएका कारण खाली ठाउँको अभाव हुँदै गएको छ । यही कुरालाई मध्य नजर गर्दै महानगरले पार्क निर्माणको अवधारणा अधि सारेको हो । सोही अनुरुप महानगरले २४ वटा पार्कको निर्माण सम्पन्न गरिसकेको छ । यसरी सम्पन्न भएका पार्कमा आभार कक्ष र खेलको सुविधासमेत रहेका छन् ।
महानगरभित्र रहेका सार्वजनिक जग्गामा कतै बृद्धाबृद्ध, कतै बालबालिका पार्क अनि कतै बगौँचाहरु बनाउने काम सम्पन्न भइरहेका छन् । रानीवारी, कमलपोखरी र मित्रपार्क जस्ता ठूला पार्कलाई हरियाली पार्कको रुपमा विकास गरिएको छ ।
यो योजनालाई निरन्तरता दिदै लैजाने योजना छ । यसका लागि यो वर्ष १२ वटा पार्क निर्माण हुन्छन् । र, ती पार्कको अहिले निर्माणको काम भइरहेको छ ।

फोहोर व्यवस्थापनको समस्या झेल्दै आएको महानगरले बञ्चरेडाँडामा पनि समस्या भोगिरहेको छ । यसको कहिले समाधान भएर फोहोर व्यवस्थापन सहज बन्छ त ?
हो, अहिले हामीलाई फोहोर व्यवस्थापनको चुनौती थपिएको छ । हामीलाई सिसडोल भरिएपछि यसको समस्या बढ्न थालेको हो । त्यसका लागि हामीले बन्चरेडाँडामा राख्ने तयारी गरेको भएपनि निर्माण पूरा नभएका कारण समस्या भएको छ । हामीले सरकारसँग यो काम छिटो पुरा गरिदिन अनुरोध गरेका छौ ।
यो सरकारी तवरबाट हुनु पर्ने काम भएको हुनाले प्राविधिक समस्याका कारण ढिलो भएरहेको छ । यसको सडक निर्माणको काम केही बाँकी छ । यसको अलवा त्यहाँ प्लान्ट राख्ने काम पनि गर्नुपर्ने हुन्छ । त्यसको काम बाँकी छ । त्यो सकिएपछि हामीले त्यहाँ फोहोर फाल्न सुरु गर्छौ । त्यसपछि फोहोर व्यवस्थापनको समस्या निराकरण हुने हाम्रो विश्वास रहेको छ ।
यो निर्माणको जिम्मा सरकारको हो । हामीले त सरकारले बनाइदिएको संरचनामा लगेर फोहोर राख्ने मात्र हो । त्यसो हुनाले बेलाबेलामा समस्या पनि झेल्नु परिरहेको छ । आशा गरौँ अब छिट्टै यो समस्याको समाधान हुनेछ ।