कामको मूल्याङ्कन वडावासीले गर्छन, हामी त काम मात्र गर्छौ : वडाध्यक्ष भण्डारी

नारायण प्रसाद भण्डारी
वडा अध्यक्ष कामनपा वडा नं. ३१
काठमाडौं महानगरपालिका वडाहरुमा देखिएको सडकको दुरावस्था, अँध्यारा सडक र जहिल्यै खानेपानी र फोहोरको समस्या झेल्दै आएको सहरको वडा नं. ३१ को अवस्था कस्तो छ त ? भन्ने बारेमा यस वडाका अध्यक्ष नारायण प्रसाद भण्डारीसँग बोधराज पौडेलले गर्नुभएको संक्षिप्त कुराकानी ।
तपाईको कार्यकाल सकिन अव केही महिनामात्र बाँकी छ । महत्वपूर्ण काम के गर्नु भयो त ?
हामीले यो समयमा दुर्ईवटा ठूला पार्कको निर्माण सम्पन्न गर्यौ । अरु तीनवटा निर्माणका क्रममा रहेका छन् । वडाको आफ्नो भवन पनि बन्दैछ । जेष्ठ नागरिक विश्राम चौतारी सार्वजनिक शौचालयसहितको सम्पन्न हुने क्रममा छ । बालबालिकाका लागि बाल उद्यान पार्क बन्नेक्रममा रहेको छ ।
यस वडाकाे सडकको अवस्था कस्तो छ ?
सडकलाई हिलो र धुलो मुक्त बनाउने हाम्रो लक्ष्य हो । यही अनुरुप वडामा रहेका सडकको अवस्थामा सुधार र कालोपत्रेको काम भएको छ । अब तीनवटा सडकको काम गर्ने तयारीमा रहेपनि त्यहाँ केही समस्या भएका कारण गर्न सकिएको छैन । मुद्दाको छिनोफानो हुने वित्तिकै हामी यी सडकको पनि कालोपत्रे गर्छौै ।
क्रियापूत्री भवन बनेको छ, यो कहिलेबाट संचालनमा आउँछ  ?
१२ वर्ष अगाडि नै तयार गर्ने गरी सुरु गरिएको भएपनि त्यो बन्न सकेको थिएन । त्यसमा संसद विकास कोष देखिको रकम लगानी गरिएको भएपनि सम्पन्न हुन नसकेको भवन अहिले सम्पन्न गरि सकिएको छ । त्यो सामुदायिक भवन हो र त्यसलाई क्रियापुत्री भवनमा रुपान्तरण गरिएको छ । आवश्यकताको आधारमा हामी संचालन गर्छौ । हाल त्यहाँ योग कक्षा संचालन भइरहेको छ ।

यो भवनले कस्तो सेवा दिन्छ नि ?
यसको उद्देश्य भनेको घरमा एक्लै बस्नुपर्ने समस्या अन्त्य गर्नका लागि हो । बिहान ९:३० मा जेष्ठ नागरिकले यहाँ ल्याएर राख्न सक्ने र बेलुका ५:३० मा लाने गर्न सक्ने गरि यो योजना बनाइएको हो । यसो गर्दा कार्यालय जाने परिवारलाई सहजता हुने र जेष्ठ नागरिकलाई पनि आफ्ना अनुभव साटासाट गर्न र एक्लोपनाको कमी गर्नका लागि यो योजना बनाइएको थियो ।

अहिलेसम्म कतिवटा योजना संचालन भए  ?
यस वडाले साना ठूला गरेर २७४ वटा अन्य योजना सम्पन्न गरेको छ । उज्यालो वडा अभियानलाई निरन्तरता दिनका लागि वडाले काम गरिरहेको छ । घटना र अन्य कुराको निगरानीका लागि ११८ वटा सिसिटिभी राखिएको छ ।
वागमति कोरिडोरको समस्या समाधान नहुनुको कारण  ?
वागमती कोरिडोर बनाउने हाम्रो लक्ष्य थियो । त्यहाँ भएको सुकुम्वासी बस्तीका कारण यो सम्पन्न गर्न सकिएको छैन । अरु केही नभएपनि वागमतिलाई पर्खाल मात्र लगाउन पाए अहिले बनेका संरचनामा क्षति पुग्ने थिएन भन्ने हाम्रो सोच हो, तर सुकुम्वासी बस्तीका कारण त्यो काम अघि बढाउन सकिएको छैन ।
तीनकुने पुलदेखि वानेश्वर क्याम्पस हुँदै जागृति नगरको नयाँ पुलसम्म पर्खाल लाउने काम भने सकिएको छ । बीचमा केही भाग सुकुम्वासीकै कारण रोकिएको छ । पहिले त्यो बारेमा दीर्घ कालिन सोच राख्न नसकेका कारण अहिले आएर समस्या भएको हो ।

वडाको भवन बन्न ढिला हुँदा यहाँ असजिलो तरिकाले सेवा लिनु/दिनु परेको छ । ढिलो हुनाको कारण चैँ के हो ?
यो भवन गत मंसिरमा शिलान्यास भएको हो । ठेकेदारलाई हामीले मंसिरसम्ममा सम्पन्न गर्नु भन्ने सहमति गरेर दिएका हौ, तर संझौता पत्रका चैत्र सम्मको समय राखियो । अहिले उसले मेरो संझौता अवधि चैत्रसम्म हो त्यो बेलामात्र दिन्छु भनेर ढिलो गरिरहेको छ । तेस्रो तलाको ढलान भइसकेको छ । अव छिटो सकिएला भन्ने आशा गरौं । एक रोपनी ४ आना क्षेत्रफलमा बन्ने यो भवनको लागत ३ करोड ७५ लाख रहेको छ ।

गर्नै पर्ने तर गर्न नसकेको कामचाहिँ के के छन् ?
जेष्ठ नागरिकका लागि दिवा सेवा भवन बनाउने योजना थियो । त्यसका लागि बजेट पनि छ । सार्वजनिक जग्गा पनि पाइएको छ । तर जहाँ हामीले जग्गाको पहिचान गरेका छौ । त्यहाँका छिमेकी भने यो जग्गामा हामी जेष्ठ नागरिक भवन बनाउन दिदैनौ भनेर रोकेका छन् । हामी मिलाउने प्रयासमा छौ ।

वडावासीको प्रतिक्रिया कस्तो छ ?
हामीले गरेका कामको मूल्याङ्कन त यहाँका स्थानीयले गर्ने कुरा हो । अहिलेसम्म काममा कुनै प्रकारको समस्या नआएका कारण सन्तुष्ट हुने गरि काम गरेका छौ भन्ने हाम्रो ठम्याइ हो । हाम्रो कार्यकालमा गरेका कामको स्मारिकका बन्दै छ । मलाई लाग्छ त्यो स्वेतपत्र नै हुनेछ ।
खानेपानी ढल, दुङ्गा छाप्ने जस्ता काम भइरहेका छन् । वडाले ३१ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरिसकेको छ ।