प्रदीप ‘मह’ सँग फिल्म बनाउने तयारीमा

सफल फिल्म निर्देशनमा ह्याट्रिक गरेका प्रदीप भट्टराई फिल्म ‘जात्रै जात्रा’ पछि निर्देशनमा फर्किएका छैनन् । २०७६ सालमा उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) सँग सहकार्य गर्न लागेको नयाँ फिल्मको घोषणा गरिएको थियो । २०७७ सालको कात्तिक ७ गते (फूलपाती) लाई प्रदर्शन मिति समेत तोकिएको थियो । तर, कोरोना महामारीका कारण फिल्म निर्माण हुन सकेन ।

अब भने निर्देशक भट्टराई उक्त फिल्मको काम सुरु गर्ने तयारीमा लागेका छन् । आउँदो दुई हप्ताभित्र फिल्मको निर्माण घोषणाको कार्यक्रम गरेर माघको अन्तिम साताबाट छायांकन सुरु हुनसक्ने उनले बताए । घोषणा सभामै नाम सार्वजनिक गरिने फिल्ममा मदनकृष्ण र हरिवंश मुख्य भूमिकामा रहनेछन् । फिल्ममा अहिलेका चल्तीका कलाकाहरुको पनि अभिनय रहने बताइएको छ ।

निर्देशक भट्टराई भन्छन्, ‘फिल्मको कथा नै युवापुस्तामाथि छ । त्यसैले फिल्ममा अहिलेका कलाकारहरुको पनि अभिनय रहन्छ । कलाकारको नाम भने घोषणा सभामा सार्वजनिक गर्ने तयारीमा छौं । फिल्मका लागि प्रायः सबै कलाकार फाइनल भइसकेका छन् ।’ यस फिल्ममा मह जोडीसँगै निर्देशक भट्टराई र ‘जात्रा’ निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँको संयुक्त लगानी रहनेछ ।

यसअघि प्रदीपले मह जोडीलाई फिल्म ‘शत्रु गते’ मा निर्देशन गरेका थिए । फिल्ममा आउनुअघि प्रदीपले मह सञ्चारमा लामो समय काम गरेका थिए । त्यहीँबाट निर्देशनको ज्ञान र अनुभव बटुलेका उनलाई पहिलो फिल्म ‘जात्रा’ ले निर्देशनमा स्थापित गरेको थियो । उनी निर्देशित तीनै फिल्म ब्लकबस्टर भएका थिए । उनले आफूले निर्देशन गर्ने हरेक फिल्मको कथा आफैंले लेख्ने गरेका छन् ।