चैत १८ मा ‘पासो’

अभिनेत्री रीस्ता बस्नेत पहिलो पटक फिल्ममा फरक भूमिकामा देखिने भएकी छन् । प्रायः फिल्ममा सोझी युवतीको भूमिकामा देखिएकी उनलाई नयाँ फिल्म ‘पासो’ मा अहिलेसम्मकै अलग अवतारमा प्रस्तुत गरिएको छ । यो फिल्मको बिहीवार फर्स्टलुक पोस्टर र प्रदर्शन मिति घोषणा गरियो । यस वर्षको चैत्र १८ गतेबाट फिल्म प्रदर्शनमा आउने वितरक करण श्रेष्ठले जानकारी दिए ।

फर्स्टलुक पोस्टरमा रीस्तालाई मात्र स्थान दिइएको छ । एक पोस्टरमा उनको हातमा हत्थौडा र धारियो हतियार देख्न सकिन्छ भने रगतले शरीर राताम्मे छ । अर्को पोस्टरमा उनलाई डराएको भावमा लुकेर चिहाइरहेको देख्न सकिन्छ । एउटा पोस्टरमा उनलाई साहसी र अर्कोमा निरीह युवतीको रुपमा प्रस्तुत गरिएको छ । यी दुई पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता जगाउने देखिन्छ ।

सरु र प्रमिला नाम गरेका दुई जना मिल्ने साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामाथि फिल्म आधारित छ । यी दुईले आफूलाई खतरनाक परिस्थितिबाट जीवीत राख्न गरेको संघर्षको कथामा फिल्म निर्माण भएको निर्देशक आर.बी पुनले जानकारी दिए । फिल्ममा कथा, पटकथा र संवाद निर्देशक पुन स्वयंको हो ।

भगवान भुजेलले निर्माण गरेको फिल्ममा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माता हुन् । फिल्ममा रीस्तासँगै सुनिसा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । चलचित्रमा सूर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ । फिल्मलाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्नेछ ।