खाद्यान्न ढुवानी नहुँदा हुम्लामा खाद्य संकट

हवाई तथा स्थल मार्गबाट गएको साउनदेखि नै ढुवानी हुनु पर्ने खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीमा रहेको खाद्यन्नको ढुवानी अहिलेसम्म भएको छैन । हवाई मार्गबाट ढुवानी हुने खाद्यन्नका लागि अदालतमा मुद्धा पर्नु र पैदल मार्गको खाद्यन्न ढुवानी सप्लायर्सहरुले छनौट भएरपछि ढुवानी गर्न नमानेकाले ढुवानी रोकिएको हो । आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा पनि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको खाद्यन्न ढुवानी कार्य सुरु हुन सकेको छैन । लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्षका लागि हवाई तथा पैदल मार्गबाट ढुवानी हुने गरी २१ हजार पाँच सय क्वीन्टल खाद्यन्न कोटा निर्धारण भएको थियो ।

तर हालसम्म ढुवानी सुरु हुन सकेको छैन । शाखाका लागि नेपालगञ्जबाट चार हजार क्वीन्टल र सुर्खेतबाट ६ हजार क्वीन्टल खाद्यन्नका सम्बन्धमा उच्च अदालत पाटनमा मुद्धा परेका कारण हालसम्म ढुवानी हुन नसकेको उनले जानकारी दिए । अदालतले दुवै पक्षलाई मंसिर १२ गते अदालत उपस्थित हुन भनेको छ । त्यसपछि मात्र के हुने भन्ने टुङ्गो लाग्नेछ ।

यता शाखासहित तीनवटा डिपो र पाँचवटा बिक्री केन्द्रका लागि सुर्खेत, नेपालगञ्ज, धनगढी, मार्तडी, कोल्टी र काठमाडौँबाट पैदल मार्गबाट ११ हजार पाँच सय क्वीन्टल खाद्यन्नका लागि टेण्डरबाट छनौट भएका सप्लायर्सले ढुवानी गर्न नमानेपछि खाद्यन्न उतै रोकिएको हो । पैदल मार्गबाट ढुवानी गर्ने सप्लायर्सले मध्य श्रीनगर डिपो र सिमकोट शाखाको खाद्यन्न मात्र बुझेका छन् ।

पैदल मार्गबाट खाद्यन्न ढुवानीका लागि छनौट भएका तर हालसम्म ढुवानी गर्न नमान्ने सप्लायर्सको धरौटी समेत जफत गर्ने तयारी भएको हुम्ला शाखाले जनाएको छ । पैदल मार्गको खाद्यन्न कोटामा नाम्खा गाउँपालिकाको याल्वाङ र लिमी बिक्री केन्द्रका लागि पाँच–पाँच सय क्वीन्टल काठमाडौँबाट केरुङ हुँदै हिल्साबाट आउनु पर्नेमा काठमाडौँमै थन्किएको छ ।

सिमकोट शाखाका लागि दुई हजार एक सय क्वीन्टल, खार्पुनाथको याङ्चु बजार बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल, सर्केगार्ड डिपोका लागि दुई हजार क्वीन्टल, चंखेली गाउँपालिकाको देउली बिक्री केन्द्रका लागि पाँच सय क्वीन्टल, तुम्च बालुकुना बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल, अदानचुली गाउँपालिकाको श्रीनगर डिपोका लागि दुई हजार नौ सय क्वीन्टल र ताँजाकोट गाउँपालिकाको छप्रेला बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल निर्धारण भएको छ । त्यो खाद्यन्न ढुवानी हुन सकेको छैन । हालसम्म कुनै पनि डिपो तथा बिक्री केन्द्रका खाद्यन्न पुगेको छैन ।

ढुवानी नभएपछि शाखा बाहेक अन्य ढिपो र बिक्री केन्द्रबाट वितरण हुने खाद्यन्न दसैँ–तिहारमा समेत बिक्री हुन सकेको थिएन । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हुम्ला शाखाको गोदाममा अघिल्लो आर्थिक वर्षको दुई सय क्वीन्टल मात्र खाद्यन्न मौज्दात रहेको बताए । यो खाद्यन्न बिक्री भन्दा पनि भैपरी आउने अवस्थाका लागि राखिएको उनले बताए ।

हरेक महिना खाद्यन्न बिक्री वितरण गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार लिमिटेडको हुम्ला शाखाले कात्तिक महिनायता खाद्यन्न मौज्दात न्यून भएको भन्दै बिक्री नै बन्द गरेको छ । एकपटक बिक्री गर्न शाखाका लागि दुई हजार दुई सय क्वीन्टल खाद्यन्न आवश्यक गर्छ । मौज्दात खाद्यन्न बिक्रीका लागि प्रयाप्त नभएका कारण बिक्री बन्द गरिएको शाखाले जनाएको छ । शाखाका तीनवटै गोदाम खाली छन् ।