बुद्ध एयर स्यालसँग ठाेकियाे

नेपालगञ्ज विमानस्थल वरपरका झाडी सफा नगर्दा र सुरक्षाका उपाय नअपनाउँदा विमानस्थलमा जोखिम निम्तिन्छ, जहाज दुर्घटनामा पर्नसक्छ र जनधनको क्षति हुनसक्छ भन्ने ज्ञान सबैसँग छ । तर, यो ज्ञान भएर पनि आवश्यक सजगता नअपनाउँदा बुधबार बेलुकी पनि नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान र स्याल एकआपसमा ठोक्किए ।

बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको ७२ सिटे जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको हो । जहाज स्यालसँग ठोक्किए पनि कुनै अप्रिय घटना नघटेको बुद्ध एयरले जानकारी दिएको छ । बुद्ध एयरका सञ्चालक वीरेन्द बस्नेतले विमानस्थलमा घाँसे मैदान हुँदा जंगली जनावरहरुको बिगबिगी बढेको र यसले दुर्घटना निम्त्याएको बताए ।