खेलकुद मन्त्रालयअन्तर्गतका स्थानीय तहको बजेटमा उल्लेख्य बृद्धि

आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्थानीय तहको बजेटमा उल्लेख्य बृद्धि गरिएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको वार्षिक बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि कुल ३ अर्ब २५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

जसमध्ये संघमा २ अर्ब ४५ करोड ५० लाख, प्रदेशका लागि ३९ करोठ ५२ लाख तथा स्थानीय तहका लागि ४० करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएको यो बजेट कुल बजेटको ०.१८ प्रतिशत हुन आउँछ । यो युवा र खेलकुद दुवैका लागि आएको एकमुष्ट बजेट हो । मन्त्रालयको कुल बजेटमध्ये ८३ प्रतिशत खेलकुदमा जाने गरेको छ ।

आगामी आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले चालू र पूजिँगत गरी २ अर्व ९ करोड रुपैयाँ बजेट पाउनेछ । त्यसमध्ये ८७ करोड रुपैयाँ पूर्वाधार बजेटका रुपमा तोकिएको छ । मूलपानी रंगशालाको पूर्वाधार निर्माण सम्पन्न, त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान, कोहलपुरमा महिला राष्ट्रिय क्रिकेट एकेडेमी र क्रिकेट रंगशाला निर्माण, फाप्लामा क्रिकेट रंगशाला निर्माण, जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणलगायतका परियोजनाका लागि विकास बजेट खर्च हुनेछ ।

सरकारले अघिल्ला तीन आर्थिक वर्षको बजेटमा १५ करोड हाराहारी बजेट पाएको स्थानीय तहले आगामी आर्थिक वर्षमा झण्डै तीन गुणा बढी खर्च गर्न पाउनेछन् । चालू आर्थिक वर्षमा स्थानीय तहका लागि १५ करोड २३ लाख छुट्याइएको थियो ।