पवित्रा सुनारलाई स्वास्थ्य पत्रकारिता पुरस्कार

यस वर्षको सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार–२०७९ पवित्रा सुनारलाई प्रदान गरिएको छ । सुदर्शन शारदा देवकोटा स्मृति फाउण्डेसनले बुधबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङ र फाउण्डेसनका अध्यक्ष डा सुधा देवकोटाले सुनारलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

राज्यमन्त्री खापुङले स्वास्थ्य क्षेत्रमा विसङ्गतिलाई पत्रकारले उजागर गरेर सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो । नागरिक दैनिकमा आबद्ध हुनुभएका पत्रकार सुनार विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

पुरस्कारको राशि रु ३० हजार र प्रमाणपत्र रहेको छ । फाउण्डेसनका अध्यक्ष डा देवकोटाले स्वास्थ्य पत्रकारितामा योगदान दिएको भन्दै सुनारलाई पुरस्कार प्रदान गरिएको बताउनुभयो । उहाँले आफ्नो स्व बुबा सुदर्शन देवकोटाको सम्झनामा पुरस्कार स्थापना गर्नुभएको हो । पुरस्कार हरेक वर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिन्छ ।