मर्जरमा जान इच्छुक बीमा कम्पनीको समयसीमा बढाउन पहल गरिने : अध्यक्ष सिलवाल

काठमाडौं – बीमा कम्पनीहरूले असार मसान्तभित्र मर्जरमा जाने सैद्धान्तिक सहमति लिएमा विभिन्न छूट तथा सहुलियत पाउने समयसीमा बढाउन बीमा समितिले पहल गर्ने भएको छ । चुक्तापूँजी वृद्धिका लागि आगामी चैत मसान्तसम्मको समयसीमा दिएपछि कम्पनीहरू मर्जर जान दबाबमा रहेको अवस्थामा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उक्त उद्घोष गर्नुभएको हो । यसको कार्यान्वयन भए कम्पनीहरूले केही हदसम्म राहत पाउनेछन् ।

पालिकान्यूजसँगको संवादमा समितिका अध्यक्ष सिलवालले मर्जरमा जान असार मसान्तभित्र समितिबाट सैद्धान्तिक सहमति लिएका कम्पनीहरूले विभिन्न छूट तथा सहुलियत पाउने अर्थ मन्त्रालयको व्यवस्था रहेकोमा अझै पनि मर्जरमा जान सहमति लिन आउने कम्पनीलाई उक्त सुविधा असोज मसान्तसम्म कायम गरिदिने प्रष्ट्याउनुभयो । तर उक्त सुविधाका लागि कम्पनीहरूले बीमा समितिमा निवेदन दिनुपर्नेछ । उहाँले निवेदनको आधारमा समितिले मन्त्रालयमा सहजीकरण गरिदिने बताउनुभयो ।

‘छूट तथा अन्य सहुलियतका लागि भन्दा पनि कम्पनीहरूको चुक्तापूँजी पु-याउन मर्जरमा समितिको जोड हो,’ उहाँले भन्नुभयो, ‘यद्यपि कम्पनीहरू मर्जरमा जाने निर्णय गर्दै समितिमा आएमा उनीहरूले पाउने सेवासुविधाका लागि हामी मन्त्रालयमा अनुरोध गर्छौं ।’

समितिको गत चैतको निर्णय अनुसार आउँदो चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब चुक्तापूँजी पु-याउनुपर्ने व्यवस्था छ । निर्धारित समय सीमाभित्र चुक्तापूँजी नपु-याए कारबाहीमा पर्न सक्ने भएकाले कम्पनीहरू हाल मर्जर तथा एक्विजिनशन र बोनस शेयर वितरणमार्फत चुक्तापूँजी पु-याउने बाटोमा छन् ।

संवादको क्रममा विदेशी लगानीको बीमा कम्पनीहरुको पूँजी वृद्धिबारे राखिएको जिज्ञासामा अध्यक्ष सिलवालले भन्नुभयो, “तीनवटै विदेशी बीमा कम्पनीलाई बिस्तारै पूँजी वृद्धि गर्दै लान पत्राचार गरिएको छ ।”

नेपालमा हाल विदेशी लगानीको तीन वटा बीमा कम्पनी रहेका छन् । भारतको लगानीमा एलआईसी नेपाल र ओरिएन्टल इन्सुरेन्स तथा अमेरिकी लगानीमा मेटलाइफ बीमा कम्पनी सञ्चालनमा छन् । उहाँले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई चैत मसान्तभित्र पूँजी वृद्धि गर्न समयसीमा तोकेको सम्बन्धमा जानकारी गराएको बताउनुभयो ।

समितिका अनुसार हालसम्म १० ओटा निर्जीवन र ९ ओटा जीवन बीमा कम्पनीहरूले मर्जरमा जान सैद्धान्तिक सहमति लिएका छन्, जसमध्ये हिमालयन इन्स्यारेन्स र एभरेस्ट इन्स्योरेन्सको मर्जर भएर एकीकृत कारोबार समेत शुरू भइसकेको छ ।