कृषि बीमा प्रभावकारी बनाउन पालिकास्तरसम्म पुग्ने छुट्टै संयन्त्र बनाउछौ : अध्यक्ष सिलवाल

साउन ७ गते । कृषि बीमालाई प्रभावकारी कार्यान्वयनका लागि पालिकास्तरसम्म पुग्ने छुट्टै संयन्त्र बनाउने तयारी भइरहेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पालिकान्यूजसँगको कुराकानिमा कृषि बीमामा कार्यरत ठूला निर्जिवन बीमा कम्पनीको पहुँच अपेक्षाकृत नरहेको बताउँदै यस्तो धारणा राख्नुभएको हो ।

समितिका अध्यक्ष सिलवालले निर्जिवन बीमा कम्पनीले कृषि क्षेत्रमा पाँच प्रतिशत बीमा अनिवार्य गर्नुपर्ने व्यवस्था रहेपनि लक्ष्य पुरा हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । हाल २० वटा निर्जिवन बीमा कम्पनी सञ्चालनमा छन् । तर बीमा कम्पनीको प्राथमिकतामा कृषि बीमा परेको छैन् ।

अध्यक्ष सिलवालले भन्नुभयो, “प्रदेशको राजधानीमा कार्यालय राखेर पालिकाहुँदै प्रत्यक किसानसम्म पहुँच हुने संयन्त्र बनाए मात्रै कृषि बीमा कार्यक्रम अपेक्षित हुन्छ ।” तर अहिलेलाई निर्जिवन बीमा कम्पनीमार्फत् नै कृषि बीमाको प्रभावकारी कार्यान्वयन गर्न बीमा समिति जोड दिइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष सिलवालले सानो पूँजीको वचत सहकारी जस्तै लघुबीमाले कृषि बीमा कार्यक्रमलाई सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । यद्दपी लघुबीमाको पूँजी र सङ्ख्या सम्बन्धमा निर्णय नभएको उहाँले जानकारी दिनुभयो ।

कृषि बीमा कार्यक्रम हाल ७० वटा पालिकामा पुगेको छ । चालू आर्थिक वर्षभित्र थप ८० पालिकामा उक्त कार्यक्रम बिस्तार गर्ने अध्यक्ष सिलवालले बताउनुभयो । बीमा कम्पनीको ‘पोलिसी’ किसानले बुझ्ने गरी ल्याइनुपर्ने बताउँदै सिलवालले भन्नुभयो, “बाली वा पशुलाई के भए बीमा पाउने, के भए नपाउने सम्बन्धमा किसान अझै बुझ्न सकेका छैनन्, पोलिसी समेत बुझ्नेगरी ल्याइनुपर्छ ।”
कृषि बीमाका लागि सरकारले ८० प्रतिशत अनुदान दिदै आएको छ । यद्दपी प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । “खडेरी भयो, धान डढ्यो, किसानलाई बीउ किन्ने पैसा हुन्न, हो तत्कालै बीमा गराएकाले बीउ खरिद गर्ने पैसा पाउँछ,” यी यस्ता पोलिसी बुझाउन जरुरी भएको उहाँले बताउनुभयो ।

किसानलाई बीमासँग जोडन पालिकाले समेत निश्चित बजेट विनियोजन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । साना, मझौला र ठूला किसानलाई लक्षित गरी कार्यक्रम ल्याउन सके मात्रै कृषि क्षेत्रमा रहेको जनसङ्ख्या पलायन हुनबाट रोकिने अध्यक्ष सिलवालले बताउनुभयो । बीमा कार्यक्रमलाई प्रविधिसँग जोडनुपर्ने आवश्यकता औंल्याउँदै सिलवालले कृषि, पशु, उद्दमलगायतका साना बीमाको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्को प्रसङ्गमा अध्यक्ष सिलवालले बीमा कम्पनी धेरै हुँदा अस्वस्थ्य प्रतिस्पर्धा भयो भन्नुहुँदै बीमाप्रति विश्वास घटेको तर्क गर्नुभयो । “लाइफ र नन–लाइफ दुवै क्षेत्रमा नयाँ इजाजत जारी गर्नुहुन्न, हामी दृढ छौँ, भएका बीमा कम्पनीको संख्या धेरै छन्, मर्जरमा गएर पूँजी बढाउनेतिर केन्द्रित हुनुपर्छ,” उहाँले बताउनुभयो ।