स्थानीय तहको निर्वाचनमा काँग्रेस पहिलो दल भएपनि मतान्तरले एमाले भन्दा कम

साउन १० गते । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली काँग्रेस पहिलो दल बनेको छ । प्रदेश १ बाहेकको छ वटै प्रदेशमा सबैभन्दा बढी सिट जितेको नेपाली काँग्रेसले अन्तिम परिणाम बमोजिम १३ हजार ७७३ सिट जितेको हो । नेकपा(एमाले)ले यसपटक ११ हजार ९३० सिट जितेको हो । कुल ३५ हजार २२१ पदका लागि निर्वाचन भएकोमा ३५ हजार ९७ पदमा मतदान भएको थियो ।

निर्वाचन आयोगले मङ्गलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी निर्वाचनमा भएको खर्च र परिणाम सार्वजनिक गरेको हो । निर्वाचन परिणाम बमोजिम पालिकाको प्रमुख वा अध्यक्ष पदमा नेपाली काँग्रेसका ३२९ जना निर्वाचित भएको जानकारी दिनुभयो । नेकपा(एमाले)बाट २०६ जना निर्वाचित भए ।

सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद जितेपनि नेपाली काँग्रेसले उक्त पदमा पाएको मत भने नेकपा(एमाले)भन्दा कम छ । सत्तारुढ पाँच दलको गठबन्धन हुँदा नेपाली काँग्रेसका उम्मेदवारले सबै स्थानीय तहको सबै पदमा उम्मेदवारी दर्ता गराएको थिएन । यद्दपी प्रमुख तथा अध्यक्ष पदमा नेकपा(एमाले)को भन्दा मतान्तर कम छ । प्रमुखमा नेपाली काँग्रेसले २२ लाख ७९ हजार ३६३ तथा नेकपा(एमाले)ले २३ लाख ४८ हजार ७०९ मत पाएको छ । अध्यक्षमा काँग्रसले १४ लाख ६७ हजार ३८८ तथा नेकपा(एमाले)ले १४ लाख ७२ हजार ९५९ मत पाएको छ ।

समग्र सिटको आधारमा राजनीतिक दलले पाएको मत अनुसारपनि काँग्रेस पहिलो दल बन्ने अनुमान गरिएको छ । आयोगले सबै पदमा कुन राजनीतिक दलले कति मत पाए भने सार्वजनिक गरेन ।

वडा अध्यक्षमा ३९ लाख ५६ हजार १९३ मत पाएको हो ।वडा अध्यक्ष पदमा खसेको कुल मतको ३४.२८ प्रतिशत मत नेपाली काँग्रेसले पाएको हो । छ हजार ७४३ वडा अध्यक्षमध्ये नेपाली काँग्रेसबाटदुई हजार ६६८ जना निर्वाचित भएका छन् । नेकपा(एमाले)ले वडा अध्यक्षमा ३८ लाख ११ हजार ६०२ मत पाएको छ । नेकपा(एमाले)बाट दुई १३७ जना वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

आयोगका अनुसार माओवादी केन्द्रबाट एक हजार ५३ र जनता समाजवादी पार्टी२९५ जना वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । वडा अध्यक्षमा नेकपा(माओवादी केन्द्र)ले १५ लाख तीन हजार २४७ मत पाएको छ भने जसपा नेपालले पाँच लाख ७७ हजार ३८० मत पाएको हो । नेकपा(एकीकृत समाजवादी)बाट १९० जना वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । वडा अध्यक्षमा उसले चार लाख २२ हजार ७३७ मत पाएको हो ।

निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मन्त्रीपरिषद्को बैठकबाट प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा हुने दाबी गर्नुभएको छ । उहाँले आयोगले मङ्सिर २ गतेका लागि प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन एकै चरणमा गर्ने प्रस्ताव गरेको जानकारी दिनुभयो । यद्दपी उक्त मितिमा चुनाव नहुने बताउँदै उहाँले मङ्सिर ४ गते सरकारले चुनावको मिति तोक्ने दाबी गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा समेत आयोग निर्वाचनखर्चमा मितव्ययीता अपनाउने बताउनुभयो । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा ठूलो खर्च कटौती गरेको बताउँदा मतदाता शिक्षा समेत प्रभावित हुन पुग्यो । जसले गर्दा बदर मत २.४ प्रतिशत कायम रहन गयो ।