धितोपत्र बोर्डले व्यवसायिक कृषिजन्य उद्यमलाई पनि पुँजी बजारसँग आवद्ध गर्ने

काठमाडौँ, साउन १३ गते । लगातारको गिरावटले धितोपत्र बजारका लगानीकर्ता निराश भइरेको वेला नेपाल धितोपत्र बोर्डले व्यवसायिक कृषिजन्य उद्यमलाई पनि पुँजी बजारसँग आवद्ध गर्ने र साना तथा मझौला उद्योगलाई धितोपत्र कारोबारका लागि सहजीकरण गर्न एसएमइज प्लेटफर्मको ब्यवस्था गर्ने भएको छ ।

बोर्डले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बिहिवार सार्वजनिक गर्दै यसलाई चार खम्वे रणनीतिमा आधारित रहेको उल्लेख गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वोर्डका अध्यक्ष रमेश कुमार हमालले ब्यवस्थापन सूचना प्रणाली र आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट बोर्डको सुपेरीवेक्षण एबं नियमन प्रणाली र क्षमता दह्रो बनाउने,धितोपत्र उपकरण तथा यसको क्षेत्रगत विविधतामा जोड दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

वोर्डको थप भावी कार्यक्रमको रुपमा स्वचालित बिद्युतीय अक्सन प्रणाली स्थापित गर्ने,वास्तबिक क्षेत्र ठुला र सफल उद्यमीलाई धितोपत्रमा आकर्षण गरि लगानी प्रवर्द्धन गर्ने,बजार बिस्तार तथा क्षेत्रगत सन्तुलन मिलाउने,लगानीकर्ताको हक सुरक्षित गर्न बोर्डको क्षमता आईओएससिओको मापदण्ड अनुरुप विकसित गर्ने,पर्याप्त पुँजी नभएका नवप्रवर्तकहरुका लागि प्रइभेट इक्वीटी तथा भेन्चर क्यापिटलको माध्यमबाट पूँजी तथा ज्ञान प्राप्त गर्ने अवसर प्रदान गरि समुन्नतीको दायरा बढाउने आदि रहेका छन् ।

ब्यवसायिक रुपमा सफल र कम्पनीहरुलाई धितोपत्र बजारमा प्रबेश गराउने र धरै अघिदेखि माग गरिँदै आएको गैर आवासीय नेपालीहरुको लगानी सहज बनाउने थप पहल गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ ।कार्यक्रम बनाइने तर कार्यान्वयन नहुने परिपाटीको अन्त्य गर्न बोर्डले यसको कार्यान्वयनका लागि पनि प्रतिबद्धता पनि देखाएको छ ।

वस्तु विनिमय बजारतर्फ यसको सञ्चालनका लागि आवश्यक वेयर हाउससम्बन्धी नियमाबली, वस्तु कारोबार दलाल व्यवसायी तथा बजार निर्माता नियमाबली र राफसाफ तथा फछ्र्यौटसम्बन्धी नियमाबली एबं विनियमाबलीहरु तयार गर्ने, दरखास्त आब्हान गर्ने र अनुमतिपत्र प्रदान गरी सञ्चालन व्यवस्था पहल गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ ।

धितोपत्र बजारलाई देशव्यापी बनाउन वित्तीय रुपले सबल नयाँ धितोपत्र दलाल व्यवसायीहरुको संख्या थप गरिने तथा धितोेपत्रको दोस्रो बजार कारोबारमा तरलता र बजार गहिराई बढाउनका लागि नयाँ धितोपत्र व्यापारी (स्टक डिलर) लाई अनुमति प्रदान गरिने अध्यक्ष हमालले उल्लेख गर्नुभयो ।

बोर्डले मर्जरमा गएका कम्पनीहरूको कारोबार रोक्का हुने व्यवस्था पनि हटाउने भएको छ । आगामी १० दिनभित्रै मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका जारी गर्ने जानकारी दिंदै अध्यक्ष हमालले आगामी २० दिनभित्र उक्त व्यवस्था कार्यान्वयन आउने प्रतिबद्धता जनाउनुभयो ।

नयाँ व्यवस्था आएपछि मर्जरमा जाने कम्पनीहरूले एकीकृत कारोबार नगरेसम्म दोस्रो बजारमा सेयर कारोबार रोकिने अवस्थाको अन्त्य हुनेछ । नेपाल राष्ट्र बैकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का गर्ने काम धितोपत्र बोर्डको नियम अनुसार हुने बताएको थियो । सोही व्यवस्थालाई कार्यान्वयनमा लैजान बोर्डले सेयर कारोबार रोकिने अवस्थाको अन्त्य गर्न लागेको हो ।

बोर्डका अध्यक्ष हमालले आगामी एक महिनामा भेन्चर क्यापिटल र प्राइभेट इक्वीटी फण्डले समेत लाइसेन्स पाउने जानकारी दिनुभयो । गएको पाँच वर्षदेखि यसको लाइसेन्स प्रक्रिया रोकिँदै आएको थियो । छ कम्पनीले एलओआइ पाइ सकेको अवस्थामा मर्चेन्ट बैंकलाई लाइसेन्स दिने कि नदिने अन्यौल सिर्जना भएको थियो । बोर्डले मर्चेन्ट बैंकलाइ छुट्टै नियमन गर्ने गरी लाइसेन्स दिने उहाँले उल्लेख गर्नुभयो ।

धितोपत्रको सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण हुने व्यवस्था मिलाउन बुक बिल्डिब प्रणालीलाई प्रभावकारी बनाउने बोर्डको भनाई छ । बुक बिल्डिब प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने ब्यवस्था बोर्डले गर्ने जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा गरेको पब्लिक लिमिटेड कम्पनीहरुलाई धितोपत्र सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्ने बोर्डले आफ्नो कार्यक्रममा उल्लेख गरेको छ । बजेट वक्तव्यमा एक अर्ब रुपियाँ वा सोन्दा बढीको पूँजी वा पाँच अर्ब रुपियाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरुको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरुलाई धितोपत्र सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसका लागि धितोपत्रको सार्वजनिक निष्काशनका लागि कम्पनी ऐन, २०६३ मा गर्नुपर्ने सुधारका सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरिने बोर्डले जनाएको छ ।

साथै कम्पनी कानुनमा भएको सुधार अनुरुप हुने गरी धितोपत्रसम्बन्धी कानुनमा सुधार गरिने पनि बोर्डले जनाएको छ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित तथा योजनावद्घ रुपमा विकास तथा सुधार कार्य अगाडि बढाउन बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।