केशव स्थापित र सुनिता डङ्गोलले निर्वाचन खर्च बुझाएनन्

साउन १७ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार केशव स्थापित र उपप्रमुख पदमा निर्वाचित सुनिता डङ्गोलले निर्वाचन खर्च बुझाउनुभएको छैन् । स्थानीय तह निर्वाचन ऐनले निर्वाचन परिणाम सार्वजनिक भएको एक महिनाभित्र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा निर्वाचन खर्च बुझाइसक्नुपर्नेछ ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका अनुसार उम्मेदवारले असार १२ गतेभित्र निर्वाचन खर्च बुझाउनुपर्ने थियो । तर उक्त समयभित्र नेकपा (एमाले)बाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका स्थापित र उपप्रमुख पदमा उम्मेदवारी दिनुभएका सुनिता डङ्गोलले निर्वाचन खर्च बुझाउनुभएको छैन् ।

महानगरपालिकाका उपप्रमुख डङ्गोलसँग टेलिफोन सम्पर्क गर्दा उहाँको सचिवालयका अधिकारीले भने निर्वाचन खर्च अस्ति नै बुझाएको जानकारी दिनुभयो । तर कुन मितिमा कहाँ बुझाएको सम्बन्धमा केही नखुलाइ उहाँले फोन काट्नुभयो । निर्वाचन कार्यालय, काठमाडौँको दर्ता किताबमा भने साउन १० गतेसम्म उपप्रमुख डङ्गोलको निर्वाचन खर्च आएको देखिएन ।

निर्वाचन कार्यालयमा समयसीमापछि पनि असार २० गतेसम्म निर्वाचन खर्च बुझाइएको छ । प्रमुख पदमा निर्वाचित बालेन्द्र साह र उहाँका निकटत्तम प्रतिद्वन्दी सृजना सिंहले भने समयमै खर्च विवरण बुझाउनुभएको छ । नेकपा(एकीकृत समाजवादी) पार्टीबाट उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले पनि समयभित्रै निर्वाचन खर्च बुझाउनुभएको छ ।

निर्वाचन कसूर तथा सजाय ऐनले समयसीमाभित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई पन्ध्र हजार जरिवाना हुने व्यवस्था गरेको छ । तर जरिवाना तिरेर पनि उम्मेदवारले निर्वाचन खर्च बुझाउनैपर्ने हुन्छ । त्यसो नगरे पटकैपिच्छे पन्ध्र हजार रुपियाँ जरिवाना तिर्नुपर्ने ऐनमा उल्लेख छ ।

स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको विभिन्न पदमा ८२५ जना उम्मेदवारी दिएकोमा १९३ जना मात्रैले निर्वाचन खर्च बुझाएका छन् ।