चुनावमा तालमेल गर्ने गठबन्धनको निर्णय

काठमाडौँ, साउन २० गते । सत्तारुढ पाँच दलका शीर्ष नेताले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेर अगाडि बढने निर्णय गरेका छन् । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय भएको छ । बैठकले सिट बाँडफाँड गर्न नौ सदस्य कार्यदल समेत बनाएको छ । कार्यदलमा नेपाली काँग्रेसका तीन जना, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा(एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका दुई दुई जना प्रतिनिधि छन् ।
बैठकमा नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल सहभागी हुनुहुन्थयो ।
सत्तारुढ पाँच दल स्थानीय चुनावमा समेत गठबन्धन गरेको थियो । शीर्ष नेताले काठमाडौँमा बसेर गठबन्धन गर्ने निर्णय गर्दै सिट बाँडफाँड गरेपनि स्थानीय स्तरमा तीब्र विरोध भएको थियो । जसले गर्दा गठबन्धनकै केही दलले चुनावी तालमेललाई लिएर असन्तुष्टि ब्यक्त गरेको थियो ।