शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता

धुलिखेल, पुस २९ गते । बनेपा नगरपालिकाले बजेट निर्माण गर्दा शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा प्राथमिकता दिएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले आज बनेपा नगरपालिकाको १३ औँ हिउँदे नगर अधिवेशन शुभारम्भका क्रममा सोबारे जानकारी दिँदै शिक्षाबिना कुनैपनि कुराको विकास असम्भव भएकाले शिक्षालाई बजेटमा पहिलो प्राथमिकता दिएको बताउनुभयोे ।

सङ्घीयतापछि नगरको चौँथो हिउँदे अधिवेशन भएको र यो बजेट अधिवेशन नभए पनि आवश्यकताको आधारमा नगरको नीति, नियम र कार्यविधि निर्माण गर्नु परेकाले केही कार्यविधिमाथि छलफल गरी अनुमोदन गराउनुपरेको उहाँले जानकारी गराउनुभयोे । शिक्षामा गुणस्तर बढाउन सामुदायिक विद्यायमध्ये चार वटालाई गत वर्ष नै नमुना विद्यालय बनाउन बजेट उपलब्ध गराइएको र यस वर्ष थप चार वटा विद्यालयलाई बजेट उपलब्ध गराउने तयारीमा रहेको पनि नगरप्रमुख शाक्यले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा शिर मेमोरियल अस्पताल, रेयुकाई आँखा अस्पताल, अपाङ्ग बालअस्पताललगायत अस्पतालसँग समन्वय गरी नगरवासीकोे स्वास्थ्यमा सुधार ल्याउन सहकार्य गरिरहेको र नगरको आधारभूत अस्पताललाईसमेत थप व्यवस्थित बनाउँदै लागिएको उहाँको भनाइ थियो ।

कृषि क्षेत्रको विकासका लागि वडा नंं १, २ ३, ४, ११, १२, १३ र १४ नम्बर वडा कृषिको बढी उब्जाउ हुने क्षेत्र रहेकाले त्यहाँ कृषि उत्पादन र बजारीकरणका लागि सहयोग गर्दै आइएको र सङ्घीय सरकारबाट प्राप्त रु दुई करोडबाट वडा नं ८ मा बहुउपयोगी चिस्यान केन्द्र निर्माण गर्न लागिएको नगर प्रमुख शाक्यले बताउनुभयो ।

काभ्रे एकीकृत खानेपानीको योजनासमेत पुरानै आयोजनामा गाभेर वितरण गर्दै आइएको र बनेपा नगरपालिकाभित्र खानेपानीका लागि भएको स्रोतलाई व्यवस्थापन गर्दै अन्य ठाउँमा डिपबोरिङको योजना बनाइएको उल्लेख गर्दै उहाँले नगरभित्रका सांस्कृतिक धरोहरको संरक्षण र सम्वद्र्धन गर्ने काममा पनि सहयोग प्रदान गर्दै गरिएको छ भन्नुभयो ।