दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बनायो थिंक ट्यांक समूह

खोटाङ, चैत २३ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले थिंक ट्यांक समूह बनाएको छ । चैत १९ गतेको नगर कार्यपालिकाको बैठकले विधिन्न विद्याका प्राज्ञ–विज्ञ सम्मिलित ३७ सदस्यीय थिंक ट्यांक समूह बनाएको हो ।

खोटाङ घर भइ राष्ट्रिय पहिचान बनाएका प्राज्ञ तथा विज्ञलाई समेटेर थिंक ट्यांकको समुह बनाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार थिंक ट्यांक समुहमा कृषिविज्ञ मदन राई, विश्लेषक हरि रोकादेखि सागर राई, डा. धनप्रसाद सुबेदी, डा. भरत पोखरेल, सनतकुमार बस्नेत, नवल खड्का, अनन्दकला राई, बबिता बस्नेत, डा. महेन्द्र बिष्ट, धनु याख्खा, शान्तिराम राई, किन्दर राईसम्म समेदिनुभएको छ ।

विज्ञ तथा प्राज्ञको अनुभव, ज्ञान र बिचारलाई नीति निर्माणमा समावेश गरेर नमुना नगरपालिका बनाउने अभियानमा उपयोगका लागि प्राज्ञ–विज्ञ सम्मिलित थिंक ट्यांक समुह बनाइएको हो । थिंक ट्यांक समुहले नगरको समृद्धिका सन्दर्भमा अध्ययन अनुसन्धान गर्ने, बौद्धिक माध्यमबाट नीतिगत सल्लाह दिने, सार्वजनिक नीति र कार्यक्रमको लेखाजोखा गर्ने मेयर भट्टराई बताउनुभयो ।