प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

मुगु, माघ १८ गते । सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पूर्व प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वडा नम्बर ६ का पूर्ववडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्माण योजनामा अधिकृत उपाध्यायसहित सवइन्जिनियर मनोज धामी र जगत बहादुर मल्लले गलत नापी किताब तयार पारेर उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भुक्तानी गरेको अख्तियारको ठहर छ ।

यसैगरी सोही फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाही, सचिव धर्म बहादुर मल्ल र कोषाध्यक्ष धनदेवि छत्याल (शाही)ले गाउँपालिकासँग गरेको सम्झौता विपरीत फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाएको देखिएको छ ।

पूर्ववडा अध्यक्ष मन प्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागी सिफारिस गरेको आरोपमा उनीहरुविरुद्ध पनि रिट दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो ,।