ललितपुर महानगरपालिकामा  दुई दमकल थपिए

पाटन, मंसिर ६ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्नुहुँदै उहाँले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सामूहिक प्रयत्नको खाँचो पर्दछ भन्नुभयो ।
“हामीसँग एक सय ६ वर्ष पुरानो डेनिस दमकल पनि सञ्चालनमा रहेको छ । अहिले आएको यो दमकल अरू दमकल पुग्न नसक्ने ठाउँमा पनि पाइपको माध्यमबाट सहयोग पु¥याउने छ । पानीले ननिभ्ने आगोलाई फोम हालेर निभाउन मिल्ने यो दमकलले धेरै नै ठूलो सहयोग पुग्ने जनाइएको छ ।
महानगरका खरिद महाशाखा प्रमुख सागर थापाका अनुसार अमेरिकी मापदण्डका यी दुई दमकल खरिदका लागि २०७९ असोजमा सम्झौता भएको थियो । दुईवटा अत्याधुनिक दमकलको लागत मूल्य रु पाँच करोड ६५ लाख रहेको उहाँले जानकारी गराउनुभयो ।
दमकलको प्राविधिक पक्षको जानकारी मेकानिकल गराउनु हुँदै महानगरका इन्जिनियर पुष्कर भट्टराईले यो दमकलले एक सय २० मिटरसम्म उच्च क्षमतामा पानी र केमिकलको फोहोरा हान्न सक्ने जानकारी गराउनुभयो ।  उहाँका अनुसार ती दमकलमा दुई हजार पाँच५ सय लिटर पानी भण्डारण क्षमता छ । यी दमकलहरु उपत्यकाका सबै क्षेत्रमा विपद् पर्दा उपलब्ध हुने जनाइएको छ ।
विपद् व्यवस्थापन, सडक पूर्वाधार र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको ललितपुर महानगरले यसअघि नै अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याइसकेको छ ।