सम्झौताको म्याद सकियो काम अझै  सुरु भएन

काठमाडौं, साउन २२ गते । तामाकोशी पुल निर्माण गर्न  ठेक्का सम्झौता अवधि सकिए पनि काम  अझै सुरुआत भएको छैन । तीन वर्ष अवधिको सो पुलको सम्झौता यही असार मसान्तमा सकिएको हो ।
राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने तामाकोशी पुल गत असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता थियो ।  हालसम्म उक्त पुलको जगकै काम नभई म्याद सकिएको हो । पुल निर्माणका लागि तीन वर्षमा तीन  मेसिनसम्म निर्माणस्थलमा झारिएको देखिएको छ । यसबाहेक अन्य प्रगति छैन ।
निर्माण व्यवसायीले पुल निर्माणका लागि झारेका सामान असरल्ल छन् । फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भएको छ । निर्माणस्थलमा झारिएका मेसिन महिनौँदेखि चलेका छैनन् । पुल निर्माणका लागि कालिका प्यासिफिक जेभीले ठेक्का सम्झौता गरेको थियो । उक्त जेभीले पुल निर्माण हुने स्थानमा केही मेसिन, औजार र रड झारेको भए पनि काम अघि बढाएको छैन ।
रामेछापका तत्कालीन प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको बैठकले तामाकोशी पुलको निर्माण  अलपत्र पार्ने निर्माण व्यवसायीलाई तत्काल काम गर्न निर्देशन दिने निर्णय गरेको थियो ।  उक्त निर्णयबमोजिम निर्माण व्यवसायीलाई कारबाही प्रक्रियासमेत सम्बन्धित निकायले अघि बढाएको छैन ।
मध्यपहाडी सडक आयोजनाका अनुसार पुल निर्माणको लागि सम्झौता गरेको निर्माण व्यवसायीलाई पटकपटक निर्माण  थाल्नका लागि पत्राचार गरिएकोे छ ।  निर्माण व्यवसायीले भने अब गर्छु भनेर आलटाल गर्दै आइरहेका छन् । पुल निर्माणका लागि झारिएको फलामे डण्डी गुणस्तरीय हुनुपर्नेमा आयोजनाले जोड दिएको छ ।