राष्ट्रपतिबाट महालेखापरीक्षकको कार्यालय उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहकाबीच महालेखापरीक्षकको कार्यालयको उद्घाटन गर्नुभएको छ । महालेखाको भवन उद्घाटन गर्दै उहाँले सरकारी निकायले गरेका कामको मूल्याङन गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो ।  यसका लागि पारदर्शिता, जवाफदेहिता सहित काम गर्नु पर्ने बताउनुभयो । कागजी प्रकृयालाई बिस्थापन गर्दै विद्युतीय प्रविधि सुरु गरेको महालेखा परीक्षकको कार्यालय धन्यवाद व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रमा बोल्दै महालेखापरीक्षक टंकमणि शर्मा दंगालले भवनको विशेषता बारेमा जानकारी दिनुभयो । भुकम्पले पारेको असर र सो समयमा काम गर्नमा भएका असहजताको बारेमा बताउनुभयो । अहिले बनेको भवनमा परम्परागत रुपमा झ्याल, ढोका, इँटा तथा टायलको प्रयोग गरिएको बताउनुभयो । त्यसै गरी आधुनिक प्रविधिको रुपमा पर्खाल र अन्य संरचना बनेको उहाँको भनाइ छ ।

यो भवन राष्ट्रपति भण्डारीबाट २०७४ मंसिर १४ गते शिलान्यास भएको थियो । ८३ करोड १८ लाख १० हजार २ सय ८१ लागतमा निर्माण भएको यो भवनमा १० तल्ला रहेका छन् । भवनमा दुईतला अण्डरग्राउण्ड पार्किङ रहेको छ भने बाँकी प्रशासनिक प्रयोजनका लागि प्रयोग गरिने छ ।

यस भवनमा ५० वटा चारपाङ्ग्रे र २४० दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महालेखाले जनाएको छ । विधिवत रुपमा कार्यालयको उद्घाटन भएपछि छरिएर रहेका आफ्ना कार्यालयलाई व्यवस्थित गरी एकीकृत रुपमा सेवा दिने शर्माको भनाइ छ । भवन बन्नु पूर्व बबरमहल, पुल्चोक, अनामनगर, डिल्लीबजारमा भवन भाडामा लिएर सेवा दिइरहेकोमा अबका दिनमा एकै ठाउँबाट सेवा दिदा कर्मचारीको मनोवलसमेत उच्च हुने बताउनुभयो ।

कार्यक्रममा महालेखापरीक्षक शर्माले महालेखाले गरेको कामको मूल्याङ्क अर्को पक्षबाट गराउनु पर्ने प्रावधान अनुसार थाइल्याण्डको महालेखाबाट परीक्षण गराउँदा सवोत्कृष्ट भएकोमा कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । कार्यक्रममा ई रामकुमार थापा, वास्तुशास्त्री डा.बासुदेवकृष्ण शास्त्री, सहायक इन्जिनियर नरेश जलारी र रमेश थपलियालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सरकारका उच्च पदस्थ कर्मचारी, राष्ट्रपति कार्यालयका पदाधिकारी, प्रधान सेनापति प्रभुराम पौडेल, कार्यालका कर्मचारीलगायतको उपस्थिति थियो ।