भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २४ गते । नेपालमा मनसुनी वायुको प्रभावका साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले बदली र वर्षाको सम्भावना छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि सामान्य बदली छ । दिउँसोतिर हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा ६४ मिलीमिटर वर्षा मापन गरिएको छ । सबैभन्दा धेरै पोखरामा एक सय २०, सिमरामा एक सय १६, जनकपुरमा ७४ र वीरेन्द्रनगरमा ७३ मिलीमिटर वर्षा भएको छ ।