सिन्धुलीका ९३ जङ्गलमा डढेलोको प्रकोप

सिन्धुलीमाढी, जेठ २ गते । सिन्धुली जिल्लामा पछिल्लो समयमा जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ । चैत अन्तिममा वर्षा भएपछि रोकिएको डढेलो गर्मी र सुक्खा बढेसँगै फेरि बढेको हो ।

सिन्धुली जिल्लामा आइतबार बेलुकासम्ममा ९३ ठाउँको जङ्गलमा आगलागी भएको डिभिजन वन कार्यालयले जनाएको छ । सबैभन्दा बढी गोलन्जोर गाउँपालिकामा २१ ठाउँमा, दुधौली नगरपालिकामा १५ ठाउँमा र सबभन्दा कम घ्याङ्लेख गाउँपालिकामा दुई ठाउँमा डढेलो लागेको कार्यालयले जनाएको छ ।

साँझ परेपछि आसपासका जङ्गलमा जताततै डढेलो लागेको देख्न सकिन्छ । जङ्गलमा लागेको आगो फैलँदै गाउँ बस्तीनजिक पुग्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।

गोलन्जोर गाउँपालिका–७, राताटारका कृष्णबहादुर राईले बस्तीनजिकको जङ्गलमा दुई दिनसम्म लागेको डढेलो दमकल, प्रहरी र स्थानीयको प्रयासले शनिबार मात्रै नियन्त्रण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “डढेलोको लप्काले भेटेर २६ वर्षीय विनीता राईको टाउको र दुवै हात जलेको छ ।

घाइतेको प्राथमिक उपचार खुर्कोटमा रहेको शुभजीवन अस्पतालमा गरेपछि थप उपचारका लागि काठमाडौँको कीर्तिपुर अस्पताल पठाएका छौँ ।” सालिन्दा जङ्गलमा डढेलो लाग्ने गरेको र जङ्गलनजिकका बस्तीमा त्रास फैलने गरेको उहाँले बताउनुभयो ।

डढेलोका कारण संरक्षित वन नष्ट हुने तथा नजिक रहेका घरगोठमा आगलागी हुने भन्दै स्थानीय त्रसित छन् । गोलन्जोर गाउँपालिका–१ का वडाध्यक्ष सोमप्रसाद बरालले आफ्नो वडाको ज्यामिरे पाखामा लागेको डढेलोले बोझबहादुर थापाको घर जलेर नष्ट भएको जानकारी दिनुभयो । च्याकुटार कार्कीडाँडामा लागेको डढेलो नियन्त्रण गर्न कठिन भएको उहाँले बताउनुभयो ।

केही दिनअघि सुनकोशी गाउँपालिका–२, अँधेरी पाखामा लागेको डढेलो बस्तीसम्म आइपुग्दा जुल्फे सार्कीको घरगोठ जलेर नष्ट भएको थियो । सार्कीकी श्रीमती सीता विसङ्खे घाइते हुनुभएको छ ।

जङ्गलमा लागेको आगो सार्कीको घरमा सल्किँदा निभाउने क्रममा विसङ्खे जलेर घाइते हुनुभएको हो । विसङ्खेको उपाचार धुलिखेल अस्पतालमा भइरहेको छ । आगलागीबाट सार्कीको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा नष्ट हुनुका साथै तीनवटा भैँसी, एउटा बाख्रा जलेर मरेका छन् ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेलले विगत केही दिनदेखि नगरपालिकाको दमकललाई डढेलो निभाउन भ्याइनभ्याइ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “डढेलो निभाउन दमकल पठाइदिनु प–यो भनी दैनिक तीन चारवटा फोन आउँछ । कता पठाउनु, कता नपठाउनु !” जथाभाबवी डढेलो लगाई जङ्गल सखाप पार्नेलाई कडा सजाय दिनुपर्ने उहाँको धारणा छ ।

जिल्ला सदरमुकाम आसपासका जलदेवी, च्याउकोट, कमलामाई, खाडीखोला र कोप्चेखोला सामुदायिक वनमा समेत डढेलो लाग्न थालेको छ । डढेलो लगाएपछि घाँस राम्रो आउने आसमा गोठाला तथा घाँस काट्नेले जङ्गलमा आगो सल्काइदिने भएकाले डढेलो अनियन्त्रित हुने गरेको हो । स्थानीयले नियन्त्रणका लागि खासै प्रयास गर्दैनन् । घर तथा बस्ती नै आगलागी भएमा मात्र कोकोहोलो हुने गरेको छ ।

डढेलोले संरक्षित साल तथा अन्य जातका रुख, वनस्पति, चराचुरुङ्गी र जीवजन्तुलाई प्रत्यक्ष असर गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । सिन्धुली जिल्लाको चुरे क्षेत्र र महाभारत क्षेत्रमा समेत जङ्गलमा डढेलो लागेको छ ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयमा १० जनाको अग्नि नियन्त्रक टोली छ । डढेलो लागेको खबर पाएमा तत्काल टोली परिचालन हुने कार्यालय प्रमुख कृष्णराज न्यौपानेले बताउनुभयो । आफ्नै घरगोठमा आइनपुगी स्थानीयले डढेलोको खबर नगर्दा नियन्त्रणमा समस्या भएको उहाँले बताउनुभयो ।

“डिभिजन वन, सेना, प्रहरी, सशस्त्र गरी ४० जनाको अग्नि नियन्त्रक संयुक्त टोली छ । जानकारी हुने बित्तिकै हामी परिचालन गर्छौं,” उहाँले भन्नुभयो ।

सिन्धुली जिल्लामा यो वर्ष डढेलोलगायतका प्राकृतिक प्रकोपजन्य घटनाबाट पाँच जनाको ज्यान गइसकेको छ । तीमध्ये चार जना खोलाले बगाएर र एक जनाको आगलागीबाट (डढेलोमा परेर) मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आगलागीबाट २५ घरपरिवार बिचल्लीमा परेका छन् ।

प्रतिमृतक दुई लाख रुपियाँका दरले आगलागीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । आगलागीबाट पीडित २५ घरपरिवारले सङ्घीय सरकारबाट १५ हजार रुपियाँदेखि ४० हजार रुपियाँसम्म राहत सहयोग पाएका छन् । त्यस्तै बाढीपीडित दुई परिवारलाई १५ हजार रुपियाँका दरले राहत उपलब्ध गराएको पनि जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।