सिँचाइ अभावले कञ्चनपुरमा चैते धानखेती घट्दै

कञ्चनपुर — कञ्चनपुरमा चैते धानखेती गर्ने किसानको संख्या तथा खेती क्षेत्रफल बर्सेनि घट्दै गएको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा पहिले व्यापक रूपमा हुने गरेको चैते धानखेती अहिले निकै सीमित क्षेत्रमा मात्रै भइरहेको सम्बन्धित निकायले जनाएका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरका अनुसार विगतमा करिब ४०० हेक्टर क्षेत्रफलमा हुने गरेको चैते धानखेती हाल घटेर करिब १५० हेक्टरमा सीमित भएको छ। कृषि ज्ञान केन्द्रका सहायक बाली विकास अधिकृत धर्मबहादुर साउँदले सिँचाइ अभावकै कारण चैते धानखेती घट्दै गएको बताए ।

उनका अनुसार केन्द्रले किसानलाई कृषि उपकरण, बीउ, मलखाद तथा सिँचाइका लागि बोरिङजस्ता सुविधा उपलब्ध गराउँदै आएको छ । “किसानलाई ५० प्रतिशत अनुदानमा बोरिङ उपलब्ध गराए पनि त्यसले पर्याप्त सिँचाइ गर्न सकेको छैन,” साउँदले भने, ।

चैते धान अन्य धानको तुलनामा उत्पादन बढी दिने भए पनि पर्याप्त पानी आवश्यक पर्ने भएकाले सिँचाइको समस्या समाधान नहुँदा किसानले खेती विस्तार गर्न नसकेको उनले बताए ।

स्थानीय किसान खुसीराम चौधरीका अनुसार चैते धानको उत्पादन राम्रो भए पनि पानी अभावका कारण खेती गर्न कठिनाइ भइरहेको छ । “चैत–वैशाखमा महाकाली सिँचाइ नहरमा पानी हुँदैन, बोरिङको पानीले पनि पर्याप्त सिँचाइ गर्न सकिँदैन,” उनले भने, सिँचाइ अभावकै कारण धेरै खेत बाँझो रहने अवस्था आएको उनको गुनासो छ ।

अर्का किसान पल्लवराज जोशीले पनि सिँचाइ सुविधा अभावका साथै छाडा चौपायाले खेती गर्न थप समस्या सिर्जना गरेको बताए । “सिँचाइको राम्रो व्यवस्था भए चैते धान खेती हाम्रो लागि निकै उपयुक्त हुन्छ,” उनले भने, “तर धानलाई पानी चाहिने समयमा यहाँ खडेरी पर्ने गर्छ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यालयका अनुसार कञ्चनपुरमा लक्ष्यअनुसार धानखेती विस्तार हुन सकेको छैन । जिल्लामा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर रहेकोमा हाल करिब ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा मात्रै खेती भइरहेको छ। त्यसमध्ये करिब २९ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा उपलब्ध रहेको छ ।

हाल कञ्चनपुरमा करिब ४८ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जिल्लामा महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणबाट करिब ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध भएको हो ।

यी दुवै चरणको सिँचाइ प्रणालीबाट भीमदत्त र बेदकोट नगरपालिका तथा बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा पुगेको छ। तर अझै पर्याप्त सिँचाइ नहुँदा चैते धानखेती विस्तारमा चुनौती कायम रहेको सरोकारवालाहरूको भनाइ छ।