काठमाडौं, — निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आज काठमाडौंमा सुरु हुँदैछ ।
साधारणसभाको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ । सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।
इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले यसपटक वरिष्ठ उपाध्यक्ष पदलाई नेतृत्वको मुख्य प्रतिस्पर्धा मानिएको छ । वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामा र महासचिव बलराम खतिवडाको समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।
यस अधिवेशनअन्तर्गत हालसम्म ६ जना पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजय मोहन भट्टराई र सुमन जोशी निर्विरोध चयन भएका हुन् ।
विधान र निर्वाचन प्रक्रियामा विवाद
करिब ७०० भन्दा बढी कम्पनीहरूको प्रतिनिधित्व गर्ने इप्पानभित्र पछिल्ला केही सातादेखि निर्वाचन प्रक्रिया र विधान संशोधनलाई लिएर विवाद चर्किएको छ ।
एक पक्षले विधान संशोधन प्रक्रिया पूरा नगरी निर्वाचन अघि बढाइएको आरोप लगाउँदै आएको छ भने अर्को पक्षले साधारणसभा पूर्ण रूपमा वैधानिक रहेको दाबी गरेको छ।
उपमहासचिव प्रकाश दुलालले विधान “गायब” भएको र विधानविपरीत साधारणसभा आयोजना गरिएको आरोप लगाएपछि अध्यक्ष गणेश कार्कीले त्यसको खण्डन गर्दै साधारणसभा कानुनी रूपमा वैध रहेको स्पष्ट पारेका छन्।
त्यस्तै, दुलाल पक्षले संस्थागत निर्णय कार्यान्वयन नभएको, विधान संशोधन प्रक्रिया अपूर्ण रहेको तथा सदस्यहरूलाई पर्याप्त जानकारी नदिइएको आरोप लगाएको छ।
ऊर्जा क्षेत्रको चासो
इप्पान नेपालमा निजी क्षेत्रबाट जलविद्युत् विकासमा संलग्न कम्पनीहरूको प्रमुख छाता संस्था हो। ऊर्जा उत्पादन, विद्युत् खरिद सम्झौता (पीपीए), प्रसारण पूर्वाधार र नीतिगत सुधारका विषयमा सरकारसँग समन्वय गर्ने महत्वपूर्ण निकायका रूपमा यसलाई लिइन्छ ।
विधान संशोधन र नेतृत्व चयनसँगै संस्थाभित्र देखिएको मतभेद कसरी व्यवस्थापन हुन्छ भन्ने विषयलाई ऊर्जा क्षेत्रले नजिकबाट हेरिरहेको छ ।



