म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–५ स्थित पोक–नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति हुने भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गरेको उक्त सडकलाई बहुवर्षीय ठेक्कामार्फत स्तरोन्नति गर्न लागिएको हो।
सडक स्तरोन्नतिको प्रारम्भिक प्रक्रियाअन्तर्गत जनप्रतिनिधि, प्राविधिक तथा स्थानीयवासीको उपस्थितिमा सर्वेक्षण सुरु गरिएको छ। सर्वेक्षणमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँ, मङ्गला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीलगायत प्राविधिक तथा स्थानीय अगुवाको सहभागिता थियो।
गण्डकी प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको सिफारिसमा पाँच करोड रुपैयाँसम्मको स्रोत सुनिश्चितता गरी बहुवर्षीय ठेक्का लगाउने नीति लिएको छ। सोही नीतिअनुसार प्रदेशसभा सदस्य जुग्जालीको सिफारिसमा चालु आर्थिक वर्षमा उक्त सडक आयोजना छनोट भएको हो।
यस वर्ष सडकका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ। तर बहुवर्षीय ठेक्कामार्फत काम अघि बढाउन प्रदेश सरकारले पाँच करोड रुपैयाँको स्रोत सुनिश्चितता गर्ने तयारी गरेको प्रदेशसभा सदस्य जुग्जालीले जानकारी दिए ।
“म्याग्दीको रणनीतिक महत्वको र बागलुङ जिल्लासँग जोडिने पुरानो सडक भएकाले अप्ठ्यारो ठाउँमा सुधार गर्ने उद्देश्यले योजना छनोट गरिएको हो,” उनले भने ।
उनका अनुसार यस सडकमा आर्थिक वर्ष २०७९/८० मा पनि प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कृषि सडक’ कार्यक्रममार्फत एक करोड रुपैयाँ बजेट विनियोजन गरी स्तरोन्नतिको काम गरिएको थियो।
अप्ठ्यारा खण्डमा ग्रेड र मोड सुधार
यस वर्षको बजेट तथा बहुवर्षीय योजनामार्फत माटेबगर–पोक मोटरेबल पुल अगाडिको घुम्तीदेखि पोकसम्म, नेटाको घुम्ती, खोलाखर्क तथा अर्मन क्षेत्रका अप्ठ्यारा स्थानमा सडकको ग्रेड तथा मोड सुधार गरिने भएको छ।
पूर्वाधार विकास कार्यालयका प्रमुख डा. बानियाँका अनुसार आवश्यक स्थानमा नाली निर्माण, ग्याबियन पर्खाल निर्माण तथा ढलानको कामसमेत गरिनेछ।
उनका अनुसार अहिले भइरहेको सर्वेक्षणका आधारमा विस्तृत लागत अनुमान तयार पारिनेछ। अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएपछि ठेक्का आह्वान गरी निर्माण प्रक्रिया अघि बढाइनेछ।
मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र वडाध्यक्ष भूपेन्द्र खत्रीले लामो समयदेखि ओझेलमा परेको तर रणनीतिक महत्वको सडकलाई प्राथमिकतामा राखेर योजना अघि बढाएकामा प्रदेशसभा सदस्य जुग्जालीलाई धन्यवाद दिए। उनीहरूले सडक स्तरोन्नतिको काम गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
२०६४ मा खुलेको सडक अझै कच्ची
पोक–नेटा–अर्मन–किमचौर हुँदै ताराखोला जोड्ने सडकको मार्ग विसं २०६४ मा खुलेको थियो। सडकको पोक–गहते खण्डमा आधारभूत सुधारका काम भए पनि प्रवेशबिन्दु तथा नेटा–अर्मन–किमचौर–ताराखोला खण्ड अझै कच्ची अवस्थामा छ।
सडकको ग्रेड र मोडसमेत नमिलेका कारण उक्त खण्डमा यात्रा गर्न स्थानीयवासी तथा अन्य यात्रुले लामो समयदेखि कठिनाइ भोग्दै आएका छन्।
प्रदेशसभा सदस्य जुग्जालीले यस वर्ष विनियोजित बजेटले भ्याएसम्म अप्ठ्यारा खण्डको स्तरोन्नति गरिने बताए । बाँकी खण्डलाई समेत क्रमशः स्तरोन्नति गर्न प्रदेश सरकारसँग पहल गरिने उनकाे भनाइ छ।
म्याग्दी र बागलुङलाई जोड्ने यो सडक स्तरोन्नति भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै दुई जिल्लाबीचको सडक सम्पर्क थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।


