नुवाकोट – वर्षाका कारण सडकमा पहिरो, लेदो तथा गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीसम्म जोडिने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको हो।
शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा वर्षाका कारण लेदो, पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखी रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
भदौ १ गते रातिदेखि लागू गरिएको उक्त व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने जानकारी दिए ।
उनले वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले सडक तथा मौसमको अवस्था अझै जोखिमपूर्ण रहेकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै प्रशासनले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्नसमेत यातायात व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ।
विपद्सम्बन्धी जानकारी तथा सहयोग आवश्यक परे जिल्ला प्रहरी कार्यालय नुवाकोटको १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
वर्षा निरन्तर भइरहेकाले सडकखण्डका जोखिमयुक्त स्थानमा पहिरो तथा गेग्रान खस्ने सम्भावना उच्च रहेको प्रशासनले जनाएको छ। त्यसैले रातिको समयमा हुने सम्भावित दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षाका लागि सवारी आवागमनमा अस्थायी रोक लगाइएको हो।



