गाउँलाई मौरी पकेट क्षेत्रको रुपमा विकास गर्दै दोर्दी गाउँपालिका

लमजुङ, फागुन २२ गते । लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ९ हिले टक्सारलाई मौरी पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ । दोर्दी गाउँपालिकाले हिलेटक्सारअन्तर्गत लाकुरीबोट गाउँलाई मौरी पकेट क्षेत्रको रुपमा प्रवर्द्धन गर्न लागेको हो ।

सिँगो गाउँलाई व्यवसायीक मौरी पालन र मह उत्पादनलाई प्रवर्द्धन गर्न प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना र दोर्दी गाउँपालिकाको लागत साझेदारी रहेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट १२ लाख र गाउँपालिकाबाट १२ लाख गरी २४ लाख रुपैया विनियोजन भएको दोर्दी–९ का वडा अध्यक्ष आशिष तामाङले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि पहिलो चरणमा लाकुरीबोट गाउँमा रहेका करिव ४० घर परिवारमा प्रत्येक घरमा मौरी सहितको घार वितरण गरिने र सोही कार्यक्रमलाई विस्तार गरिने वडा अध्यक्ष तामाङको भनाई छ ।

कार्यक्रम कार्यन्वयनका लागि स्थानिय उपभोक्ता समिति गठन भई गाउँपालिकासँग सम्झौता समेत भईसकेको छ । मौरी र मह उत्पादनलाई बढाएर अर्को वर्ष सिँगो गाउँलाईनै मौरी पकेट क्षेत्रको रुपमा विकास गर्ने वडा कार्यालयको योजना छ ।

निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन गाउँपालिकाले मौरीपालक कृषक सुविधालाई लक्षित गरेर पकेट क्षेत्र विस्तार कार्यक्रम सुरु गरेको हो । व्यावसायिक मौरी पालनका लागि प्रवल सम्भाव्यता भएको र स्थानिय कृषकहरुको पनि चाहाना भएकोले सो क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लामा वर्षेनी मह उत्पादनमा वृद्धि हुँदै गएको पाइएको छ । जिल्लाका मौरी पालक कृषकहरु व्यावसायिक रुपमा मौरी पालन व्यवसायतर्फ आर्कषित हुँदा उत्पादनमा वृद्धि हुँदै गएको हो ।

हरेक वर्ष मौरीका घार वितरण तथा मौरीपालन सम्बन्धी तालिम दिएपछि मौरीपालनतर्फ किसान आकर्षित भई उत्पादनमा वृद्धिभएको तथ्यांकले देखाएको छ । जिल्लामा हाल दुईसयको हाराहारीमा किसानहरुले व्यवसायिक मह उत्पादन गर्दै आएका छन् ।

जिल्लामा उत्पादित मह मध्ये करिव २० प्रतिशत मात्रै घरायसी प्रयोग हुने गरेको छ भने बाँकी ८० प्रतिशत मह जिल्ला बाहिर काठमाडौँ, पोखरा, चितवन लगायतका वाहिरी जिल्लामा बिक्री हुँदै आएको छ ।

जिल्लाका मौरी पालक व्यावसायीक किसानहरुले चरण क्षेत्र निमार्ण गर्नुका साथै सामुदायीक वनमा मौरी चरण गर्ने व्यवस्था मिलाएका छन् भने केही मौरी पालक किसानहरुले मौरीको आहाराको लागि तोरी खेती समेत गर्दै आएको केन्द्रले जनाएको छ ।