काठमाडौं, २५ फागुन । नेपालले बिहीबार तेस्रो राष्ट्रपतिको रुपमा कांग्रेसका रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल निर्वाचित हुनुभएको हो ।
३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् । कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए ।
एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनलाई संघीय संसदका ९६ जना सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिएका हुन् ।
पौडेलको राजनीतिक यात्रा
तनहुँको ब्यासमा २९ असोज २००१ मा उनको जन्म भएको थियो । कांग्रेस पार्टीबाट ६ दशक राजनीतिमा सक्रिय रहेका पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
एकपटक सभामुख, ५ पटक मन्त्री र ६ पटक सांसद रहेका उनी प्रधानमन्त्रीमा लगाता १७ पटकसम्म संसदमा एमाले उम्मेदवार झलनाथ खनालसँग पराजित हुनुभएको थियो । तर, बिहीबार १० दलको समर्थनमा उहाँ देशकै प्रमुख पदमा पुग्नुभएको छ ।
२०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका उहाँ २०३४ सालमा तनहुँबाट जिल्ला सदस्य भएर कांग्रेसबाट सक्रिय राजनीतिमा होमिनु भयो । यसअघि उहाँ २०२७ सालमा नेविसंघको संस्थापक सदस्य रहनुभएको हो ।
तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा संसद् भङ्ग गरेपछि भएको आन्दोलनमा उहाँ सहभागी भएका पौडेल तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालाई पक्राउ गरेकोमा विरोधमा उत्रिएका नेता हुनुहुन्छ ।
२०४३ सालमा कांग्रेसको केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख भएका पौडेल त्यसपछि निरन्तर कांग्रेसको केन्द्रीय राजनीतिमा हुनुहुन्छ । २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापतिसमेत सम्हालिसकेको अनुभव पौडेलसँग छ ।
यस्तै, २०७४ सालबाहेक २०४८ सालदेखि हालसम्म सातपटक सांसद भएका उनी २०५१ सालमा प्रतिनिधिसभाका सभामुखको जिम्मेवारी सम्हाल्नुभयो । २०६५ मा कांग्रेस संसदीय दलको नेता बन्नुभएका पौडेलले संसदमा विपक्षी दलको नेताको रुपमा आफ्नो जिम्मेवारी पूरा गर्नुभयो ।
पहिलोपटक २०४८ सालमा स्थानीय विकास मन्त्री बन्नुभएका पौडेल त्यसपछि २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचना÷सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री र २०६३ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री बन्नुभयो ।
प्रजातन्त्र र लोकतन्त्रका लागि भएका आन्दोलनमा सहभागी हुँदा पौडेल पटकपटक गिरफ्तार मात्र हुनुभएन १५ वर्ष जेल जीवनसमेत बिताउनुभयो । उहाँ पौडेललाई आगामी पाँच वर्षका लागि देशले राष्ट्रपतिको रुपमा पाएको छ ।