वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षा योजना शुभारम्भ

काठमाडौं, चैत ८ गते । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ । यो योजनाको काठमाडौंमा आज आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गर्नुभयो ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको हो ।

सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुका अनुसार श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत् सहभागी हुन सकिन्छ ।

त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने डा. जोशीले जानकारी दिनुभयो । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

ह्वाट्सय एप र भाइबर ग्रुपमा जोडिएर सूचना लिन वा जिज्ञासा राख्न सकिन्छ । त्यसका लागि कल सेन्टर स्थापना गरिएको छ र यो चौबिसै घण्टा सन्चालन गर्ने व्यवस्था मिलाइएको डा. जोशीले बताउनुभयो ।

यो योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुल आचार्यले यो योजनाका लागि आफूहरुले पहल गर्दै आएको र अहिले पूरा भएको भन्दै योभन्दा खुसीको क्षण अरु हुनै नसक्ने बताउनुभयो ।

वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ । उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौं श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पाँच वर्षे रणनीतिक योजना पनि सार्वजनिक गर्नुभयो । त्यसमा मन्त्रालयले कसरी काम गर्ने र कसरी परिणाम निकाल्ने भन्ने मार्गचित्र छ ।

प्रधानमन्त्री प्रचण्डले पत्रकार गोपाल संग्रौलाकी श्रीमती मन्जु थपलियाको सामाजिक सुरक्षा कोषको कार्ड हस्तान्तरण समेत गर्नुभयो । वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेकी थपलिया सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुभएको छ ।